images
images

दोलखामा दुई वर्ष नाघेका मुद्धाको फैसला हुन किन ढिलाई ?

  • ११ भाद्र २०७९, शनिबार १३:४६

दोलखा । दोलखा जिल्ला अदालतबाट दुई वर्ष नाघेका २८ वटा मुद्धा अझै फैसला हुन सकेको छैन ।

अदालतले विभिन्न घटनाका २८ वटा मुद्धा दुई वर्ष नाघिसके पनि फैसला गर्न नसकेको हो । जसअनुसार देवानी प्रकृतिका ८ र साधारण फौजदारीको २० वटा मुद्धा दुई वर्षसम्म पनि फैसला नभएको हो । सामान्यतया अदालतले सरल मुद्धा ६ महिनाभित्र, सामान्य मुद्धा एक वर्षभित्र र विशेष मुद्धा १८ महिनाभित्र फैसला गर्नुपर्ने व्यवस्था रहेपनि दोलखा जिल्ला अदालतबाट २८ वटा मुद्धा दुई वर्ष नाघिसकेपनि अझै फैसला भएको छैन ।

नापिदर्ता, बकसपत्र बदर र सार्वजनिक कायम सम्बन्धी, अंश मुद्धा, जवरजस्तीकरणी, जवरजस्तीकरणी उद्योग, ज्यानमार्ने उद्योग, सवारी अंगभंग र जग्गा खिचोला सम्बन्धी मुद्धा अदालतमा पुगेको दुई वर्षसम्म पनि फैसला नभएको हो । स्थानिय तह निर्वाचनमा न्यायधिश नै मुख्य निर्वाचन अधिकृतको रुपमा खटिएका कारण तिन महिना मुद्धा फैसला हुन नसकेकाले समस्या भएको जिल्ला अदालत दोलखाका सुचना अधिकारी भीम पाण्डेले जानकारी दिनुभयो । सूचना अधिकारी पाण्डेले न्यायधीश मुख्य निर्वाचन अधिकृतको रुपमा खटिएपछि अदालतमा वैशाखदेखि असारसम्म सामान्य प्रकृतिका मुद्धा बाहेक अन्य कुनै पनि मुद्धा नहेरिएका कारण मुद्धाको संख्या बढी देखिएको बताउनुभयो । दुई वर्षसम्म अदालतबाट मुद्धा फैसला नहुँदा बिचाराधिन मुद्धामा पुर्पक्षमा गएकाहरु अन्यायमा परेका छन् ।

अदालतमा १८ महिनादेखि दुई वर्षभित्रका २२ थान, १२ महिनादेखि १८ महिनाभित्रका ५२ थान मुद्धा फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ । यस्तै ६ महिनादेखि १२ महिनाभित्रका १ सय थान र ६ महिनाभित्रका १ सय ५९ थान मुद्धा फैसला हुन बाँकी छ ।