images
images

जिरी अस्पतालमा सांसदहरुको चासो, पूर्वाधार विकासका लागि ३१ लाख बजेट विनियोजन

  • १६ फाल्गुन २०७८, सोमबार ०९:४५

जिरी (दोलखा) । जिरी अस्पतालको पूर्वाधार विकास र स्तरोन्नतिका लागि दोलखाका सांसदहरुले प्राथमिकताका साथ बजेट विनियोजन गरेका छन् ।

जिरी नगरपालिका अन्तर्गत सञ्चालित जिरी अस्पतालका लागि जिल्लाबाट बागमती प्रदेशमा निर्वाचित तीन जना सांसदहरुले बजेट विनियोजन गरेका हुन् । अस्पताल सञ्चालन तथा व्यवस्थापनको जिम्मा जिरी नगरपालिका मातहत गएपछि अस्पतालको सेवा खस्किएको जनगुनासो आइरहेका बेला सांसदहरुले पूर्वाधार निर्माण र स्तरोन्नतिको लागि बजेट विनियोजन गरेका छन् । जसले गर्दा अस्पतालले दिने सेवामा सुधार आउने र अपर्याप्त पूर्वाधारहरु थप हुने अनुमान छ । बागमती प्रदेश सभामा जिल्लाबाट निर्वाचित सांसदहरुले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रम अन्तर्गत हालै मात्र जिरी अस्पतालका लागि ३१ लाख ५० हजार रुपैंया बजेट विनियोजन गरेका छन् ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री समेत रहेका सांसद विशाल खड्का तथा सांसदहरु आङदेण्डी लामा र सरस्वती बस्नेतले जिरी अस्पताल स्तरोन्नतिको लागि बजेट विनियोजन गरेका हुन् ।

बागमती प्रदेश सभामा जिल्लाबाट निर्वाचित तीन जना सांसदहरुले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रम अन्तर्गत हालै मात्र जिरी अस्पतालका लागि ३१ लाख ५० हजार रुपैंया बजेट विनियोजन गरेका छन् । जसले गर्दा अस्पतालले दिने सेवामा सुधार आउने र अपर्याप्त पूर्वाधारहरु थप हुने अनुमान छ । केही महिना अघिसम्म जिरी अस्पतालमा शल्यक्रिया लगायतका जटिल प्रकृतिका सेवाहरु सञ्चालनमा नरहेकोमा यही फागुन महिनाबाट शल्यक्रिया सेवा पनि सुरु भएको छ । 

दोलखा प्रदेशसभा ‘क’ बाट बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य विशाल खड्काले अप्रेसन थिएटर स्नरोन्नतिका लागि ९ लाख ८७ हजार ५ सय र सांसद सरस्वती बस्नेतले खानेपानी निर्माणका लागि ९ लाख ८७ हजार ५ सय रुपैंया बजेट विनियोजन गरेका छन् । जिरी स्थायी घर भएका सांसद आङदेण्डी लामाले भने अस्पतालका लागि ११ लाख ७५ हजार बजेट विनियोजन गरेका छन् । उनले जेनेरेटर खरिद तथा सोलार बत्ती जडानको लागि सो बजेट विनियोजन गरेका हुन् । केही महिना अघिसम्म जिरी अस्पतालमा शल्यक्रिया लगायतका जटिल प्रकृतिका सेवाहरु सञ्चालनमा नरहेकोमा यही फागुन महिनाबाट शल्यक्रिया सेवा पनि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना एमडिजिपी डाक्टर र बागमती प्रदेशले ५ जना स्वास्थ्यकर्मी पठाएपछि सल्यक्रिया लगायतका सेवाहरु सुचारु भएको हो ।

यसअघि भौतिक संरचनाको समेत राम्रो व्यवस्था नभएको जिरी अस्पतालमा केही महिना अघि मात्रै थप पूर्वाधार निर्माण सम्पन्न भएपछि अहिले अस्पतालले नयाँ सुविधा सम्पन्न भवनबाट सेवा दिन थालेको छ । जर्मनको केएफडब्लु नामक संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा करिब ३५ करोडको लागतमा जिरी अस्पतालका नयाँ भवन सहितका भौतिक पूर्वाधार निर्माण गरिदिएपछि हाल सो भवनबाट बिरामीलाई सेवा दिन सहज भएको छ ।

अन्य अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि बजेट

सांसद विशाल खड्काले बैतेश्वर गाउँपालिकास्थित बैतेश्वर अस्पतालका लागि पनि ९ लाख ८७ हजार ५ सय र दुई वटा स्वास्थ्य चौकीलाई १४ लाख ८१ हजार २ सय ५० रुपैंयाका दरले बजेट विनियोजन गरेका छन् । उनले गौरीशंकर गाउँपालिका २ स्थित जुँगु स्वास्थ्य चौकीलाई १४ लाख ८१ हजार २ सय ५० र तामाकोशी गाउँपालिका ६ स्थित च्यामा स्वास्थ्य चौकीलाई १४ लाख ८१ हजार २ सय ५० रुपैंया बजेट विनियोजन गरेका हुन् । साथै, मेलुङ गाउँपालिकास्थित मेलुङ स्वास्थ्य चौकीको लागि पनि एक्सरे मेसिन खरिद र ल्याव एनलाइजरका लागि ९ लाख ८७ हजार ५ सय बजेट छुट्याइएको छ । सांसद सरस्वती बस्नेतले पनि बैतेश्वर ७ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि ९ लाख ८७ हजार ५ सय रुपैंया बजेट विनियोजन गरेको पाइएको छ ।

दोलखाबाटै बागमती प्रदेशमा निर्वाचित सांसद हिमाली गोलेले बैतेश्वरमा दुई वटा स्वास्थ्य चौकी इकाईका लागि बजेट विनियोजन गरेका छन् । बैतेश्वर ८ स्थित क्षेत्रवती स्वास्थ्य चौकी र बैतेश्वर २ स्थित सामुदायिक स्वास्थ्य ईकाई घेराबारका लागि उनले ९ लाख ८७ हजार ५ सय रुपैंयाका दरले बजेट छुट्याएका हुन् ।