images
images

बहुमत जुटाएसँगै बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत्र १९ गते विश्वासको मत लिने

हेटौँडा । आफ्नो पक्षमा बहुमत जुटेसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन् ।

नयाँ गठबन्धनमा साथमा ५५ सांसदको मात्र साथ रहेकोमा हाम्रो नेपाली पार्टीका हानेपाका नेता शैलेन्द्रमान बज्राचार्यको साथ मिलेसँगै जम्कट्टेलको पक्षमा बहुमत पुगेको हो । योसँगै मुख्यमन्त्री जम्कट्टेलले यही चैत्र १९ गते सोमबार विश्वासको मत लिने भएका हुन् । हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले बिहीबार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सत्ता समीकरण फेरिएसँगै प्रदेशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था छ । सोहीअनुसार मुख्यमन्त्री जम्कट्टेलले चैत्र २२ गतेभित्र विश्वासको मत लिनुपर्दछ ।

११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ प्रदेशसभा सदस्यमा समर्थन आवश्यक पर्दछ । एमाले २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी नयाँ गठबन्धनसँग ५५ मत रहेकोमा हाम्रो नेपाली पार्टीको एकजना सांसदको समर्थन जुटेसँगै मुख्यमन्त्रीको पक्षमा ५६ सांसदको समर्थन जुटेको हो ।