images
images

तामाकोशी गाउँपालिकाभित्र खादा र व्याज आउट, फुलमालालाई प्राथमिकता

  • १५ पुष २०७९, शुक्रबार ११:१७

जिरी (दोलखा) । दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाभित्र खादा तथा व्याजको प्रयोग प्रचलनलाई बन्द गरी स्थानीयस्तरका फुलमालालाई प्रोत्साहन गर्ने भएको छ ।

तामाकोशीले गाउँपालिकाभित्रका विद्यालय, संघसंस्था, सरकारी तथा निजी कार्यालयहरुले औपचारिक कार्यक्रममा प्रयोग गरिने खादा तथा व्याजको प्रयोग हुने प्रचलनलाई हटाएर स्थानीयस्तरमा उत्पादन हुने फुल र सो सम्बन्धी कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्ने भएको हो । स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि गत जेठ १७ गते बसेको कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको थियो । तर, पालिकाभित्र हुने औपचारिक कार्यक्रमहरुमा अझै लागु नभएको पाइएपछि पुनःसचेत गराएको छ ।

खादा र व्याजमा लाग्ने अनावश्यक खर्चलाई जोगाउन तथा स्थानीयस्तरमै उत्पादन हुने फुललाई खपत र फुल व्यवसायिलाई उत्पादन गर्न समेत प्रोत्साहन मिल्ने भएकाले बाहिरबाट खरिद गरी खादा र व्याजले सम्मान गर्ने चलनलाई हटाउन खोजिएको पालिका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यपालिकाले निर्णय गरेपछि गाउँपालिकाको कार्यालयमा आयोजना हुने कार्यक्रममा खादा र व्याजको प्रयोगलाई बन्द गरिएको छ ।

साथै अध्यक्ष केसीले आगामी दिनमा तामाकोशी गाउँपालिका मातहतका सबै संघसंस्था र कार्यालयहरुले औपचारिक कार्यक्रमहरुमा खादा र व्याजको प्रयोग नगर्न/नगराउन पनि आग्रह गर्नुभयो ।