images
images

आपराधिक घटना न्यूनिकरणमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने दोलखाका प्रहरी प्रमुखको भनाई

  • १८ चैत्र २०८०, आईतवार १९:०७

दोलखा । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्काले आपराधिक घटनामा कमी ल्याउन नागरिक समाजको सहयोग अपरिहार्य हुने बताउनुभएको छ ।

जिल्लामा हुने अपराधिक घटनालाई न्यूनिकरण गर्न र अपराध अनुषन्धानमा समेत नागरिक समाजको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । हालै मात्र दोलखा सरुवा भएर आउनु भएका डिएसपी खड्काले आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जिल्लामा शान्तिसुरक्षा र अमनचयन कायम गर्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र सवै सचेत नागरिकको सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो ।

विगतमा दोलखा जिल्लामा सुन तस्करीदेखि बिभत्स हत्यासम्मका आपराधिक घटना भएकाले जिल्लामा शान्तिसुरक्षाको चुनौती थपिएको भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले कानून वमोजिम आपराधिक घटना नियन्त्रणमा लिन र दोषी उपर कारवाही गर्न प्रहरी सक्षम रहेको प्रतिक्रिया दिनुभयो । उहाँले नागरिक समाजको सहयोग भएमा कुनै पनि आपराधिक घटना छिप्न नसक्ने भन्दै आफुले असल नियतले काम गर्ने स्पस्ट पार्नुभयो ।

डिएसपी खड्काले अपराधिक घटनाको अनुषन्धानमा समेत नागरिक समाजको सहयोग जरुरी हुने भन्दै विगतका जस्ता घटनाहरु जिल्लामा दोहोरिन नदिन आफु सक्रियतापूर्वक लागि पर्ने बताउनुभयो ।