images
images

शरीरमा पेट्रोल छर्किएर आगो लगाउने घट्ना बढ्दो, आठ दिनमा तीन जनाको मृत्यु

  • १८ माघ २०७९, बुधबार १७:५६

काठमाडौं । नेपालमा पेट्रोल छर्किएर शरीरमा आगो लगाई आत्मदाह गर्ने र आत्मदाहको प्रयास गर्ने घटनामा बृद्धि भएको छ ।

यही माघ महिनामा मात्रै पेट्रोल छर्किएर शरीरमा आगो लगाएका चार वटा घटना भएका छन् । तीन वटा घटनामा आफैँले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास भएका छन् भने एउटा घटना श्रीमानले श्रीमति र छोरालाई पेट्रोल छर्किएर आगो लगाएको घटना हो । सुरुमा माघ १० गते इलामको सुर्योदय नगरपालिकाका ३७ वर्षिय प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनको उपचारका क्रममा माघ ११ गते उपचारका क्रममा मृत्यु भएको थियो । त्यसको पाँच दिनपछि माघ १५ गते पोखरामा एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्किएर बाथरुमभित्र आत्मदाहको प्रयास गरेका थिए । ती युवकलाई बचाउन गएकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित संगीता सापकोटाको घरमा पसल सञ्चालन गर्दै आएका कृष्ण बहादुर सापकोटाको घरमा भाडामा लिएर पसल गर्दै आएका उनले आत्मदाहको प्रयास गरेपछि बचाउन गएकी सापकोटाको आगोले जलेर मृत्यु भएको थियो ।

त्यसपछि माघ १६ गते बाँकेका एक युवकले श्रीमति र दुई वर्षे छोरालाई पेट्रोल छर्किएर आगो लगाएका थिए । कोहलपुर नगरपालिका वडा नम्बर १ का ३२ वर्षिय भानुभक्त विकले पत्नी गंगा विक र दुई वर्षे छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाए । बुबाले लगाएको आगोले जलेर दुई वर्षिय बालकको मृत्यु भएको छ भने उनकी आमाको अस्पतालमा उपचार भइरहेको छ । त्यसको दुई दिनपछि बाग्लुङका युवकले पनि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन् ।

त्यसको दुई दिनपछि आज बागलुङका एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले आज आफ्नै शरीरमा पेट्रोल छर्केर घरभित्रै आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङको डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । आत्मदाहको प्रयास गरेका जिसिलाई उपचारका लागि पोखरामा ल्याईँदैछ । उनले किन आत्मदाहको प्रयास गरे भन्ने विषय खुलेको छैन ।