images
images

दोलखा महोत्सव आजबाट सुरु हुँदै, उपप्रधानमन्त्री श्रेष्ठले उद्धघाटन गर्ने

  • १९ फाल्गुन २०७९, शुक्रबार ०८:२०

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा आजदेखि महोत्सव सुरु हुँदैछ ।

सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा आजदेखि सुरु हुने महोत्सव फागुन २७ गतेसम्म चल्नेछ । महोत्सवको भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जिल्लामा पर्यटन प्रबद्र्धनका लागि स्थानीय तथा मौलिकतालाई जगेर्ना गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव सञ्चालनका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । रोबटिक एसोसिएसन नेपालको सहयोगमा रोबर्ट प्रदर्शनी पनि महोत्सवको मुख्य आकर्षक पक्ष मानिएको छ । महोत्सवमा जिल्लामा अवस्थित विभिन्न जातजातीहरुको प्रतियोगितात्मक झाँकी प्रस्तुत गरिनेछ । यस्तै, सामुहिक एबम् एकल नृत्य प्रतियोगिता, पञ्चैबाजा, खैजडि भजन प्रतियोगिता पनि सञ्चालन हुनेछ । जसअनुसार प्रतियोगितामा सहभागि भई उत्कृष्ठ हुनेलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ ।

महोत्सव अवधिभर अपर तामाकोशी हाईड्रोपावरको शेयर डिम्याट खातामा जम्मा गर्नको लागि शिविर सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा सांगितिक कार्यक्रम पनि सञ्चालन गरिने बताउनुभयो । महोत्सवमा बरिष्ट कलाकार मदनदास श्रेष्ठ, कुमार बस्नेत, पशुपति शर्मा, प्रमोद खरेल, बद्रि पंगेनी, भोजराज काफ्ले लगायतका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । स्थानीय उत्पादन, मौलिकता झल्कने खानेकुरा, जनजातीको झाँकीका साथै नेपाल बिज्ञान प्रबिधि प्रज्ञा प्रतिष्ठान नास्टको सहयोगमा बिभिन्न प्रदर्शनी समेत देखाईनेछ । महोत्सवमा १ सय भन्दा बढी स्टल राखिनेछ ।