images
images

बागमतीलाई अबको पाँच दिनः कसको नेतृत्वमा बन्ला सरकार ?

  • २१ पुष २०७९, बिहीबार १८:२८

जिरी (दोलखा) । सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व र मन्त्रालय भागवण्डा भइसकेको छैन ।

पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र त्यसपछि केन्द्र र प्रदेशको भागवण्डा टुंग्याउने तयारी भइरहेको बेला बागमती प्रदेशमा पनि पाँच दिन भित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गतेभित्र सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको हो । बागमती प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूसँगको सहकार्यमा सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुख शर्माका स्वकीय सचिव पारशमणि फुँयालले जानकारी दिनुभयो । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

एक सय १० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसका ३७ सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् । केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा पनि ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्ने सम्भावना छ । अहिलेसम्म एमाले, माओवादी र राप्रपा मिलेर बागमती प्रदेशमा सरकार बनाउने तयारी भइरहेको छ । बागमती प्रदेशमा मुख्यमन्त्री कसले पाउने भन्ने विषय अहिलेसम्म टुंगो लागिनसकेको अवस्थामा सबै दलहरूले आ–आफ्नै दाबी गर्दै आएका छन् ।

सरकार गठनका लागि आह्वान भएसँगै बागमतीको राजनीतिक माहौल तातिएको छ । बागमती प्रदेशमा सरकार गठनका लागि आवश्यक सामान्य बहुमत गठबन्धनका दलहरु माओवादी केन्द्र, एमाले र राप्रपाले सहजै पाउने देखिन्छ । प्रदेशसभामा गठबन्धनको ६१ सिट रहेको छ । जुन सरकार गठनका लागि पर्याप्त छ । यद्यपि, मुख्यमन्त्री बन्न गठबन्धनका दलहरु सबै दावेदार देखिएका छन् । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेबाट दलका नेता जगन्नाथ थपलिया, माओवादी केन्द्रबाट दलका नेता शालिकराम जम्कट्टेल र राप्रपाबाट दलका नेता उद्धव थापा दाबेदार छन् ।

तर, केन्द्रीयस्तरमा सत्ता गठबन्धन दलहरु बीच भागबण्डा नहुँदा प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेमा अन्योलता बढेको छ । भागबण्डाको सम्पूर्ण निर्णय केन्द्रीय तहका नेताहरुबाट हुने भएकाले प्रदेशस्तरमा कुनै पनि छलफल हुन नसकेको गठबन्धन दलका नेताहरुको भनाई छ । बागमती प्रदेश सरकार कसरी–कसको नेतृत्वमा गठन गर्ने भन्नेबारे केन्द्रको निर्णयको प्रतिपक्षामा रहेको सत्ता गठबन्धनका संसदीय दलका नेताहरुले बताएका छन् । सरकार गठनबारे प्रदेश तहले आफ्नो भूमिका निर्वाह गर्ने र केन्द्रले त्यसको निर्णय गर्ने उनीहरुको भनाई छ ।