images
images

बस दुर्घटनामा एकै वडाका ६ जनाको मृत्यु, १८ घाइते

  • २२ पुष २०७९, शुक्रबार ०७:१८

पाल्पामा बस दुर्घटना हुँदा एउटै वडाका ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

पाल्पाको रैनादेवि छहरा गाउँपालिका ८ खुसार्नेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको छहरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो । मृतक सबै रैनादेवी छहरा–८ का हुन् ।

गएराती करिब १० बजे रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्नेका लागि छुटेको ग १ ख ४९७७ नम्बरको यात्रुवाहक बस खुसार्ने पुग्ने बेला मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताउनुभयो ।