
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ ।
आयोगले गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको सिट आज बाँडफाँट गरेको हो । जसमा प्रतिनिधिसभातर्फको ३४ सांसद सहित सबैभन्दा बढी एमालेले १ सय ४ सांसद पाएको छ । ती मध्ये ७० जना भने प्रदेशसभाका सांसद रहेका छन् । प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।
एमालेपछि कांग्रेसले ९६ सांसद पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२ सांसद पाएको हो । कांग्रेसले प्रदेशतर्फ प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । ४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४, प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।
यसैगरी, राप्रपाले प्रतिनिधिसभामा ७, प्रदेश १ मा ४, मधेश प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्रै १३ सिट पाएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभामा शून्य सिट पाएको एकीकृत समाजवादीले प्रदेशसभामा भने जम्मा ९ सांसद पाएको छ ।
नेमकिपाले पनि प्रदेशसभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ । जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । यसैगरी, प्रदेशसभा मात्रै सिट पाएको लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सांसद पाएको निर्वाचन आयोगले जनाएको छ ।