images
images

दोलखामा गठबन्धनः प्रतिनिधिसभामा गंगा कार्की, प्रदेशका उम्मेदवार अझै टुँगिएन

  • २२ आश्विन २०७९, शनिबार २१:२७

दोलखा । सत्तारुढ गठबन्धनले दोलखाको प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका नेता गंगा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेपनि प्रदेशका उम्मेदवारहरुको अझै टुँगो लाग्न सकेको छैन ।

नेकपा माओवादी केन्द्रको भागमा परेको प्रतिनिधिसभा सदस्यमा पोलिट्व्यूरो सदस्य गंगा कार्की ‘बिस्व’ लाई उम्मेदवार बनाउने निर्णय भएपनि कांग्रेसको भागमा परेको प्रदेशसभाका दुवै सिटमा यो समाचार तयार पार्दासम्म उम्मेदवार टुँगो लाग्न नसकेको हो । प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई सिट रहेको दोलखामा माओवादी केन्द्रले प्रतिनिधिसभा र नेपाली कांग्रेसले प्रदेशसभा लिने गठबन्धन दलहरुवीच सहमति बनेको थियो । सहमतिपछि माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यकालागि नेता गंगा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कार्की दोलखा माओवादीका ५ जना संस्थापक नेता मध्ये एक हुन् । १० बर्षे शसस्त्र जनयुद्ध सुरु हुनु अगावै दोलखा सदरमुकाम चरिकोटस्थित सडक कार्यालयवाट ठूलो परिमाणको डिटोनेटर कव्जा गरेर कार्की सहितका नेताहरु भूमिगत भएका थिए । शालिन र इमान्दार छविका नेता कार्की पहिलो पटक निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन् ।

दुई सिट रहेको दोलखाको प्रदेशसभा नेपाली कांग्रेसको भागबण्डामा परेपनि उम्मेदवारको टुँगो लाग्न सकेको छैन । प्रदेशसभा ‘क’ मा कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र जिल्ला पार्टी सभापति बर्मा लामाको दावी छ भने प्रदेशसभा ‘ख’ मा अर्का केन्द्रीय सदस्य अजयवावु शिवाकोटी, महाधिवेशन प्रतिनिधि प्रभुराम श्रेष्ठ, केशवराज चौंलागाई लगायतका नेताहरुको दावी रहेको छ ।