images
images

दोलखामा पक्राउ पुर्जी प्रकरणः छोरा खोजीदिन सहिद आमाको सरकारलाई अपिल

  • २७ पुष २०७९, बुधबार १६:२५

दोलखा । जनयुद्धका क्रममा २२ वर्षअघि सहिद भएका छोरालाई पक्राउ पूर्जी जारी गरिएपछि दोलखाकी एक सहिद आमाले आफ्नो छोरा खोजि गरिदिन सरकारसँग माग गरेकी छिन् ।

२२ वर्षअघि सहिद भएका वैतेश्वर गाउँपालिका वडा नम्बर ७ का राजस्वराज रिमाल ‘हेमन्त’ विरुद्ध पक्राउ पूर्जी जारी भएपछि आमा धनकुमारी रिमालले छोरा खोजि गरिदिन सरकारसँग माग गरेकी हुन् । २०५७ साल मंसिर १ गते ओखलढुंगाको रगनीमा सहादत प्राप्त गरेका हेमन्तलाई पक्राउ गर्न गत सोमबार प्रहरी टोली उनको घरमा पुगेको थियो । ६ वर्षअघि सहादत भएका हेमन्तविरुद्ध २०६३ साल जेठ २८ गते दर्ता भएको मुद्धाको जाहेरी लिएर उनलाई पक्राउ गर्न भन्दै प्रहरी घरमा पुगेको थियो । छोरो सहिद भएको २२ वर्षपछि पक्राउ पूर्जी लिएर प्रहरी आफ्नो घरमा आइपुगेपछि धनकुमारीलाई झनै बज्रपात भयो ।

सहिद भइसकेको छोराको नाममा पक्राउ पूर्जी जारी भएपछि कतै सरकारले वेपत्ता बनाएर राखेको हो कि ? भन्ने आशंका सहित सहिद आमाले छोराको खोजी गरिदिन सरकारलाई आग्रह गरेकी छिन् । छोरा हेमन्तको खोजीका लागि धनकुमारी आजै संघीय राजधानी लागेकी छिन् । उनले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेटेर छोरा खोजी गरिदिन आग्रह गर्ने बताएकी छिन् । उनी आजै सुमो चढेर काठमाडौं गएकी छिन् ।

तत्कालीन जनयुद्धका सर्वोच्च कमाण्डर पुष्पकमल दहाल प्रचण्ड देशको प्रधानमन्त्री भएका बेला २२ वर्षअघि सहिद भएका व्यक्तिलाई पक्राउ गर्न प्रहरी खटिनुलाई सहिद परिवारले षड्यन्त्रको रुपमा लिएका छन् । धनकुमारीले जनयुद्धका क्रममा दुई छोरा र बुहारी सहित तीन सन्तान गुमाएकी थिइन् । उनका जेठा छोरा राजस्वराज रिमाल हेमन्तको २०५७ साल मंसिर १ गते, केशरराजस्वराज रिमालको २०६० साल मंसिर १९ गते र बुहारी निर्जला रिमालको २०५९ साल साउन १८ गते राज्य पक्षबाट हत्या भएको थियो ।