images
images

बागमती प्रदेशमा आज सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता हुदै

  • २८ पुष २०७९, बिहीबार ०७:३३

काठमाडौँ । बागमती प्रदेशमा सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

आज बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको हो । दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने र त्यसलगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने भएपनि गठबन्धन इतरको उम्मेदवार भने टुंगो लागिसकेको छैन । सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । राप्रपाले हिजो पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

निर्विरोध भएपनि वा एक जनाभन्दा बढीको उम्मेदवारी परेपनि भोली प्रदेश सभाको बैठक बोलाउने र सोही दिन निर्वाचन गरेर परिणाम सार्वजनिक गर्ने तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेशसभा नियमावली २०७४ मा पहिले सभामुखको निर्वाचन गरिसकेपछि मात्रै उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना सांसद छन् । सभामुख निर्वाचित हुन ५१ प्रतिशत मत पाउनुपर्नेछ ।