images
images

दाङ दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत

  • २८ पुष २०८०, शनिबार ०७:२५

काठमाण्डौ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको छ ।

जिल्लाको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट गएराती बस खस्दा १२ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको हो । मृत्यु हुनेमा मकवानपुर हेटौंडा बस्ने अन्दाजी ३०/३५ वर्षीय शौरभ बिष्ट, नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, जुम्लाको चन्दनाथ–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीयय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको सनाखत भएको हो ।

दुर्घटनामा ११ जना पुरुष र एक महिलाले ज्यान गुमाएका हुन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति करिब साढे १० बजे भालुबाङस्थित पुलबाट राप्ती नदीमा खसेको थियो ।
दुर्घटनामा २२ जना घाइते भएको इलाका प्रहरी कार्यालय भालुभाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिनुभयो । प्रहरी निरिक्षक सिंहका अनुसार दुर्घटनामा परी मृत्यु भएका १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।