images
images

चित्लाङ जिप दुर्घटना अपडेटःमृत्यु हुने चारै जना एकै परिवारका रहेको खुलासा

  • २८ पुष २०८०, शनिबार १६:३५

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा भएको जिप दुर्घटनामा परि मृत्यु भएका चारै जना एकै परिवारका रहेको खुलेको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३० का ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा.महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतमको मृत्यु भएको हो । उनीहरू सबै एकै परिवारका हुन् । जिपका चालक डा. गौतम बालरोग विशेषज्ञ हुन् । डा. गौतमकी श्रीमती डा.सृष्टि तिवारी गौतम सकुशल छिन् भने उनको ६ वर्षकी छोरी स्मारिका गौतमको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगोलले जानकारी दिनुभयो । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

६ जना सवार प्र–३–०१–२३ च ६९८५ नम्बरको जिप आज दिउँसो २ बजे दुर्घटनामा परेको थियो । जिप काठमाडौंबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरामा सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।