images
images

आवेदन कम परेपछि मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओको म्याद थप

  • १ फाल्गुन २०७९, सोमबार १३:५५

जिरी (दोलखा) । दोलखास्थित मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओको म्याद थप भएको छ ।

आवेदन कम परेपछि मकर जितुमाया सुरी हाइड्रोपावरको म्याद थप भएको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागी निष्काशन गरेको कम्पनीको आईपीओमा फागुन १५ गतेसम्मका लागि म्याद थप गरिएको कम्पनीका फाइनान्स म्यानेजर उमेश उपाध्याले जानकारी दिनुभयो । हाइड्रोपावरले गत माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो । तर, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिएपनि स्थानीयको आवेदन कम परेपछि आजदेखि १५ दिन म्याद थप भएको हो । कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको १० पतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको छ । जसमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाँउपालिका वडा नम्बर ५ र ६ का स्थानीय बासिन्दाका लागि ३ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ भने प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नम्बर १, २, ३, ४, ७, ८ र ९ का स्थानीयले ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीयले १ लाख १४ हजार कित्ता सेयरमा आवेदन दिन सक्ने कम्पनीले जानाएको छ ।

सर्वसाधारणका लागि भने १५ लाख २० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५२ हजार कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ संस्था केयर रेटिङ नेपालले सो कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । स्थानीयले प्रभु बैंक, लक्ष्मी बैंक र सेन्चुरी बैंकको शाखा र आयोजना स्थलबाट पनि आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र यसको अनलाइन व्यवस्थाबाट पनि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।