images
images

लामावगरको सुख्खा पहिरोमा पुरिएर मृत्यु र घाइते हुने स्थानीय युवा, उद्धारमा कठिनाई

  • १ माघ २०८०, सोमबार १६:५५

दोलखा । दोलखाको उत्तरी लामावगरवाट लप्चि जाने सडक निर्माणको क्रममा खसेको सुख्खा पहिरोमा पुरिएर मृत्यु र घाइते हुनेको पहिचान भएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा बिगु गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय कुसुङ तामाङ रहेका छन् भने घाइते हुनेमा सोही स्थानका ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ रहेको दोलखा प्रहरीले जनाएको छ । उनीहरु तीनै जना नासा हाइड्रो पावरको सडक निर्माणका काम गर्ने मजदुर हुन् । लामावगरवाट लप्चि जाने सडक निर्माणको क्रममा हुरहुरे भन्ने स्थानमा दिउँसो करिव ३ बजे माथिवाट खसेको सुख्खा पहिरोले उनीहरुलाई पुरेको थियो । पहिरोका कारण घटनास्थलतर्फ जाने सडक र बाटो अवरुद्ध भएको तथा मौसम प्रतिकुलताका कारण हेलिकोप्टर आउन नसक्दा उनीहरुको उद्धारमा कठिनाई भएको शसस्त्र प्रहरी बलको बोर्डर आउट रिच पोष्ट (बिओपी) लामावगरका प्रहरी निरिक्षक (इन्स्पेक्टर) जयन्त केसीले जानकारी दिनुभयो । घटनास्थल लामावगरवाट करिव १० किलोमिटर उत्तरमा पर्दछ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले घाइतेको उद्धारकालागि निजी कम्पनीको हेलिकोप्टरलाई आग्रह गरिए पनि प्रतिकुल मौसमका कारण आउन नसकेको बताउनुभयो । घटनास्थल चिनसँग सिमाना जोडिएको दुर्गम क्षेत्रमा भएको र सडक तथा बाटोको पहुँच नभएका कारण अहिलेसम्म घाइतेको उद्धार हुन सकेको छैन । उनीहरुको स्वास्थ्यको यकिन अवस्था समेत खुल्न सकेको छैन । प्रजिअ पोखरेलले घाइतेको उद्धारकालागि नेपाली सेनाको नाइट भिजिन हेलिकोप्टरलाई समेत आग्रह गरिएको जानकारी दिनुभयो ।

तस्वीरः माथिल्लो तामाकोशी आयोजनाको बाँधस्थल । यही बाँधस्थलको किनारहुँदै लामावगरदेखि हिमाली गाउँ लप्चिसम्म सडक निर्माणको काम भइरहेको छ । सडक निर्माणको क्रममा सुख्खा पहिरो खस्दा एकको मृत्यु हुनुको साथै दुई जना घाइते भएका हुन् ।