images
images

लामावगरमा मृत्यु भएका युवकको शव हेलिकोप्टर मार्फत चरिकोट ल्याइयो

  • २ माघ २०८०, मंगलवार १४:४८

दोलखा । नासा हाइड्रो पावरले निर्माण गर्न लागेको लप्चि जलबिधुत आयोजनाको प्रवेश मार्ग निर्माणको क्रममा मृत्यु भएका लामावगरका युवकको शव चरिकोट ल्याइएको छ ।

सडक निर्माणका क्रममा खसेको पहिरोमा पुरिएर मृत्यु भएका भनिएका बिगु गाउँपालिका–१ लामावगरका १९ वर्षीय कुसुङ तामाङको शवलाई हेलिकोप्टर मार्फत चरिकोट ल्याइएको हो । लामावगरको अति विकट र दुर्गम हुरहुरे भन्ने स्थानमा घटना भएका कारण उनको शवलाई पोष्टमार्टमाकालागि आज श्री एयर लाइन्सको हेलिकोप्टर मार्फत चरिकोट ल्याइएको हो ।

मृतकको शवलाई चरिकोटस्थित शव गृहमा राखिएको छ । मृतकका परिवारजन आएपछि शवको पोष्टमार्टमा गरिने र आफन्तलाई शव बुझाउने स्थानीय प्रशासनले जनाएको छ । नासा हाइड्रो पावरको सडक निर्माणमा मजदुरी गर्न गएका कुसुङको उमेर १९ वर्ष मात्र भएको र उनलाई सुरक्षा सामाग्री विना जोखिमपूर्ण काम लगाएका कारण मृत्यु भएको परिवारजनले बताएका छन् ।

हिजो दिउँसो सडक निर्माणको क्रममा हुरहुरेमा माथिवाट पहिरो खसेको र पुरिएर उनको मृत्यु भएको दोलखा प्रहरीले जनाएको थियो । मृतकका परिवार र आफन्तजनले भने घटना शंकास्पद भएको दावी गरेका छन् । हुरहुरेमा पहिरो खस्दा ढुँगाले लागेर बिगु गाउँपालिका–१ लामावगरका २२ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका दुवै जनालाई घटनास्थलवाट १९ घण्टापछि सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी काठमाडौं लगिएको छ । उनीहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।