images
images

सुनखानी–साङबा सडक दशैं अघि सञ्चालन नहुने

  • ३१ भाद्र २०७९, शुक्रबार ०८:०४

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकास्थित सुनखानी–साङबा सडक दशैं अघि सञ्चालन नहुने भएको छ ।

अविरल वर्षाका कारण भदौ पहिलो सातादेखि पुर्ण रुपमा अवरुद्ध भएको सो सडक तत्काल सुचारु नहुने भएको हो । कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङ स्थित घट्टेखोला नजिकै बिचबाटै धाँजा फाटेपछि सडक अवरुद्ध बनेको छ । सो सडक मर्मत गरेर पुनः प्रयोगमा ल्याउन नसकिने र नयाँ ट्रयाक नै खोल्नुपर्ने भएकाले दशैंअघि सञ्चालनमा आउने अवस्था नरहेको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नम्बर ५ सँगको समन्वयमा नयाँ ट्रयाक खोल्ने विषयमा छलफल भइरहेको छ ।

भदौ पहिलो सातादेखि सडक धाँजा फाटेर पुर्ण रुपमा अवरुद्ध भएपछि सो क्षेत्रका स्थानीयले हाल वैकल्पिक रुट प्रयोग गरिरहेका छन् । सुनखानी–साङबा सडक पुर्ण रुपमा अवरुद्ध भएपछि कालिञ्चोक गाउँपालिका वडा १, २, ३, ४ र ५ का स्थानीयले झमार्सिको बाटो प्रयोग गरिरहेका छन् भने वडा नम्बर ६ का स्थानीयलाई स्वती साँधिखोलाको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । दोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी–साङबा सडक अवरुद्ध भएपछि स्थानीयलाई सास्ती भएको छ । करिव सय मिटर सडक बिचबाटै फाटेर चिरा चिरा भएपछि स्थानीयलाई सास्ती भएको हो ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सहदेव खड्काले नयाँ ट्रयाक खोल्नका लागि सडकको विचमा पर्ने एउटा कच्ची घरलाई क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने भएकाले हाल सोही विषयमा छलफल भइरहेको बताउनुभयो । यसअघि पनि पटक–पटक अवरुद्ध हुँदै आएको सुनखानी–साङबा सडक यो पटक भने लामो समयदेखि अवरुद्ध हुँदा समस्या भएको हो । २०७७ सालमा कालोपत्रे गर्नका लागि ग्रावेल गरिएको सडक कालेपत्रे नै नगरी धाँजा फाटेर पुर्ण रुपमा अवरुद्ध भएको हो ।