images
images

कोभिडबाट प्रभावित दोलखाका परिवार र बालबालिकालाई चीनले राहत दिने

  • ३१ भाद्र २०७९, शुक्रबार १०:२६

दोलखा । कोभिडबाट प्रभावित दोलखाका परिवार र बालबालिकालाई चीनले राहत दिने भएको छ ।

चीन सरकारले कोभिड प्रभावित दोलखा सहित ४ जिल्लाका परिवार र बालबालिकालाई राहत दिने भएको हो । चीन सरकारले दोलखा, काठमाडौं, महोत्तरी र सप्तरीका कोरोना महामारीबाट प्रभावित ३ हजार ६ सय नेपाली परिवार र बालबालिकालाई खाद्यान्न राहत प्याकेज मार्फत सहयोग गर्ने भएको हो ।

खाद्यान्न राहत प्याकेज वितरणका लागि चिनियाँ सरकार, ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेसन फण्ड र चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सचेन्जको सहयोगमा चाइना फाउण्डेशन फर रुरल डेभलमेन्ट नेपालको कार्यालयले खाद्यान्न नेपाल ल्याएको हो । कार्यालयले लक्षित परिवारलाई दुई महिनाको खाद्यान्नको पर्याप्तता पुरा गर्ने लक्ष्यका साथ आधारभुत खाद्यान्न सामग्री २५ केजी, खाना पकाउने तेल २ लिटर र दाल ६ केजी वितरण गर्नेछ । राजधानीमा आयोजित कार्यक्रममा सीएआरडी नेपालका देशिय निर्देशक सुश्री जोउ झिकियाङले आयोजना अन्तर्गतको खाद्यन्न प्याकेजहरु मुलुकका ४ जिल्लाका २२ विद्यालय सामुदायिक विद्यालय मार्फत वितरण गरिने जानकारी दिनुभयो । मुलुकका गरिब बालबालिका र परिवारले भोग्नुपरेको भोकमरीको समस्यालाई उन्मुलन गर्ने र उनीहरुलाई स्वस्थ्य रुपमा हुर्काउन सहयोग गर्ने उदेश्यले राहत वितरण गर्न लागिएको उहाँको भनाई छ ।