images
images

प्रहरी निगरानीमा रहेका न्यौपानेको आत्महत्या पछि ‘सहकारी चोरी घटना’ नयाँ मोडमा

जिरी (दोलखा)। दोलखाको मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सूर्योदय सहकारीमा भएको चोरीको घटनाले नयाँ मोड लिएकोे छ ।

सहकारी चोरीको घटनामा दोलखा प्रहरीले निगरानी राखिरहेका एक जनाको मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ । आज विहान मात्रै हाम्रो सूर्याेदय वचत तथा ऋण सहकारी संस्थाका पूर्व कोषाध्यक्ष एवँ सहकारीको कार्यालय रहेको घरधनी कपिलमणि न्यौपानेले ‘सुसाइड नोट’ सहित आत्महत्या गरेपछि घटनाले नयाँ मोड लिएको हो । चोरीको घटना घटेको तीन साता वित्दासम्म दोषी पत्ता लाग्न नसकिरहेका बेला सोही घटनाको निगरानीमा रहेका न्यौपानेले आत्महत्या गरेपछि घटना नयाँ दिशातर्फ मोडिएको छ ।

गत माघ १५ गते पवटीको रमाइलो चोकमा रहेको सूर्योदय सहकारीको भल्टबाट ३२ लाख ८५ हजार रुपैंया रकम चोरी भएको थियो । सो घटनामा दोलखा प्रहरीले संस्थाका व्यवस्थापक महेन्द्र भुजेल र पूर्व कोषाध्यक्ष न्यौपाने सहित चार जनालाई निगरानीमा राखेर अनुषन्धान गरिरहेको थियो । सहकारीका एक कर्मचारी र पवटीको रमाइलो चोकमा होटल व्यवसाय गर्दै आएका एक युवकलाई प्रहरीले अभ्रद व्यवहारमा म्याद थप गरी हिरासतमा राखेर अनुषन्धान गरिरहेको छ । प्रहरीले सहकारी चोरीको घटनामा चार जनालाई नियन्त्रणमा लिए पनि राजनीतिक दवावका कारण न्यौपाने र भुजेललाई तारेखमा छोडिएको थियो ।

प्रहरी श्रोतका अनुसार आत्महत्या गरेका पूर्व कोषाध्यक्ष न्यौपाने र व्यवस्थापक भुजेललाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर मंगलवार र बुधवार ‘पोलिग्राफ टेष्ट’ गरिएको थियो । पोलिग्राफ परिक्षण गरेर घर फर्किएकै भोलिपल्ट न्यौपानले आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नु अघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै सूर्योदय सहकारी चोरीको घटना संचालक र कर्मचारीको मिलेमतोमा भएको भन्दै गम्भीर ढंगले छानविन गर्नु पर्ने बताएका छन् । न्यौपानेले बर्तमान र पूर्व संचालकको नाम किटान गरी लामो योजनाका साथ आफुलाई फसाउने खोजिएको उल्लेख गरेका छन् ।

न्यौपानेको आत्महत्यासँगै सहकारी चोरी घटनाको नयाँ ढँगले अनुषन्धान गर्न प्रहरीमाथि राजनीतिक र सामाजिक दवाव बढेको छ । कतिपयले प्रहरीले घटनाको गम्भीर अनुषन्धान गरी दोषीको पहिचान गर्न नसक्दा आत्महत्याको घटना घटेको भन्दै दोलखा प्रहरीको आलोचना पनि गरेका छन् । एमाले दोलखाको हालै सम्पन्न जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यमा निर्वाचित न्यौपानेले सहकारी चोरीको घटनामा आफ्नो नाम जोडिएका कारण आत्महत्याको बाटो रोजे वा अन्य कारण पनि छन् ? खुल्न बाँकी छ ।

ग्रामीण क्षेत्रमा कार्यालय रहेको सूर्योदय सहकारीमा लाखौं रुपैयाँ भल्टमा राखिनु, चोरी हुने दिन व्यवस्थापकले भल्टको साँचो कार्यालयमा बिर्सिएको बताउनुले थुप्रै आशंकाहरु पैदा गरेको छ । सहकारीको भल्ट राखिएको कोठा र पूर्व कोषाध्यक्ष एवँ घरधनी न्यौपाने सुत्ने कोठासँगै जोडिएका कारण पनि प्रहरीले उनलाई बढी निगरानीमा राखेको थियो ।

दोलखा एमालेले लगायो प्रहरी प्रशासनलाई दोष

यसैबीच, नेकपा एमाले दोलखाले विज्ञप्ती जारी गरी सहकारी चोरीको घटनामा घरबेटी भएपावत प्रहरी प्रशासनले अनावश्यक दुख दिँदा आत्महत्याको घटना घटेको बताएको छ । एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले आज विज्ञप्ती जारी गरी प्रहरीले दिएको दुख र हतोत्साहितका कारण आफ्नो पार्टीका जिल्ला कमिटी सदस्य कपिलमणी न्यौपानेले आत्महत्या गरेको आरोप लगाएका छन् । आत्महत्याको मूख्य दोषी स्थानीय प्रहरी प्रशासन भएको एमालेको आरोप छ । एमालेले हाम्रो सूर्याेदय सहकारीको चोरीको घटनालाई ‘कथित’ घटनाको संज्ञा दिँदै प्रहरीले सहकारीमा चोरी भए नभएको एकिन नगरी न्यौपानेलाई हतोत्साहि बनाएको र बास्तविक दोषी पत्ता लगाउन नसकेको बताएको छ ।