images
images

शिक्षक राजनीतिक दलको समितिमा बसे बर्खास्त गरिने, यस्तो छ मन्त्रालयको निर्णय

  • ५ बैशाख २०८१, बुधबार ०८:३०

काठमाडौँ । शिक्षक राजनीतिक दलको समितिमा बसे शिक्षा मन्त्रालयले बर्खास्त गर्ने भएको छ ।

शिक्षा मन्त्रालयमा हिजो बसेको बैठकले दल र तीनका क्रियाकलापमा संलग्न शिक्षकमाथि कारबाही गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रालयले दलमा आबद्ध शिक्षकविरुद्ध उजुरी आवहान गरेको थियो । दुई साताको अवधिमा एक दर्जनभन्दा बढी शिक्षकविरुद्ध उजुरी परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार त्यस उजुरीमा हाल छानविन भइरहेको छ । देशभर कक्षा १२ सम्मका निजी र सरकारी सबै शिक्षकको संख्या करिब ४ लाख २० हजार रहेको छ ।

जसमध्ये अधिकांश शिक्षक राजनीतिक भातृ संगठनका सदस्य रहेका छन् । मन्त्रालयका अनुसार नेपाल शिक्षक संघमा ९०, एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा ८० र नेकपा माओवादीनिकट अखिल नेपाल शिक्षक संघमा ५० हजार शिक्षक आबद्ध रहेका छन् । कानुनले शिक्षकलाई राजनीतिक दलमा आबद्ध हुन नपाउने व्यवस्था गरेको शिक्षामन्त्री सुमना श्रेष्ठले बताउनुभयो । शिक्षकले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीतिक गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

शिक्षकलाई राजनीतिक दलको सदस्यता वा आबद्धता हुन प्रतिबन्ध रहेको छ । शिक्षा, ऐन, नियमावली र राजनीतिक दलसम्बन्धी ऐनले शिक्षक दलमा आबद्ध हुन नपाउने व्यवस्था छ । शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा ५ को खण्ड ६ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइमा पदबाट हटाइने व्यवस्था छ ।