images
images

छात्रालाई बलात्कार गरी शिक्षक फरार, बिधालयमै बढ्न थाल्यो यौन दुव्र्यवहार

दोलखा । दोलखामा आफ्नै गुरुहरुवाट स्कूले किशोरी असुरक्षित बन्न थालेका छन् ।

बिधालयका शिक्षकहरुवाटै स्कूले किशोरी बलात्कारको शिकार भएको घटना सार्वजनिक हुन थालेको हो ।बिधालयमा अध्ययन गर्ने किशोरीहरुलाई शिक्षकले यौनजन्य दुव्र्यवहार गर्ने र कतिपय बलात्कारको शिकार समेत भएका छन् । एक वर्षको अवधिमा दोलखामा शिक्षकबाट जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका तीन वटा घटनाहरु भएका छन् । पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण यस्ता खालका केही घटनाहरु सार्वजनिक भएपनि धेरै घटनाहरु बाहिर आउन नसकेको हुनसक्ने अधिकारकर्मीको भनाई छ । चेतनाकोस्तर बढ्दै गएकाले आफूमाथि भएको हिंसाबारे छात्राहरुले बोल्न थालेका छन् ।

सिकाईदिने बहानामा, पढाई राम्रो भएन भन्दै फेल गराईदिने जस्ता धम्की दिएर छात्राहरुमाथि शोषण भैरहेको पाईएको छ । अध्ययनकालागि बिधालयको होस्टलमा बस्ने गरेका छात्राहरु समेत बलात्कारको शिकार भएको घटना सार्वजनिक भएको छ । आफन्तहरु नभएको वा टाढा भएको जस्ता बिभिन्न कारणले शिक्षकहरुबाट छात्रा पीडित बनेका हुन् । यसरी शिक्षकबाट पीडित बनेका बलिकाहरु शारीरिक र मानसिक रुपले विक्षिप्त हुने समस्या देखिएको पीडितका आफन्तहरुले बताएका छन् । ज्ञानको ज्योति छर्ने र सत्मार्गमा हिँड्न सिकाउने गुरुहरुबाटै छात्राहरु सुरक्षित नरहेकाले यसबारे थप अध्ययन हुनुपर्नेमा मानव अधिकारकर्मिहरुले जोड दिएका छन् ।

दोलखामा पछिल्लो समय जवरजस्ती करणी वा करणीको प्रयास गर्ने शिक्षकहरु बाहिर जिल्लाको बढी रहेको पाईएको छ । २०८० साल फागुनमा दोलखाको जिरी नगरपालिकास्थित जेम एकेडेमीका प्रिन्सिपल भक्तराज बोहरा बिरुद्ध आफ्नै बिद्यालयकी छात्रालाई बलात्कार गरेको अभियोगमा किटानी जाहेरी परेको थियो । डोटी जिल्ला केदार गाउँपालिका १ घर भई जेम एकेडेमीमा प्रिन्सिपल रहेका २८ बर्षिय भक्तराज बोहराले कक्षा १० मा अध्ययनरत छात्रालाई पटक–पटक ज्यान मार्नेसम्मको धम्की दिएर जवरजस्ती करणी गरेको भन्दै पीडितले उजुरी दिएकी थिईन् । बिद्यालयकै छात्रावास (होस्टल) मा बस्दै आएकी ती किशोरीले आफु पीडित भए पनि प्रिन्सिपलले अरुलाई भने मार्ने धम्की दिएका कारण पीडा लुकाएर बस्न बाध्य भएको किटानी जाहेरीमा बताएकी थिईन् । छात्रा बलात्कार अभियोगमा पक्राउ परेका जेम एकेडेमीका प्रिन्सिपल बोहरा हाल अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन् ।

यसअघि २०७९ साल फागुन २७ गते जिरी नगरपालिकामा एक किशोरीलाई आफ्नै शिक्षकले जवरजस्ती करणी गरेका थिए । जिरी नगरपालिका २ स्थित बौद्ध भुवनेश्वरी माध्यमिक बिद्यालयमा अध्ययनरत १५ वर्षिया किशोरीलाई जवरजस्ती करणी गरी शिक्षक फरार भएका थिए । जिरी नगरपालिका ८ स्थित कालीदेवी आधारभूत बिद्यालयमा करारमा कार्यरत बिज्ञान विषयका शिक्षक गोविन्द ओली बिरुद्ध पीडितकी आमाले फागुन २७ गते जाहेरी दर्ता गराएकी थिईन् । घटनालगत्तै फरार रहेका ती शिक्षक अझै पक्राउ पर्न सकेका छैनन् । सुदुरपश्चिम घर भएका भनिएका ती शिक्षकको आधिकारीक ठेगाना दिन नमिल्ने भन्दै प्रहरीले सो समयमा उनको ठेगाना सार्वजनिक गरेको थिएन ।

यस्तै, २०८० साल चैत्रमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ स्थित लापिलाङ माध्यमिक बिद्यालयका एक शिक्षकले कक्षा ७ मा पढ्ने छात्रालाई जबरजस्ती करणीको प्रयास गरेको पीडितले बताएकी छन् । बिद्यालयमा शैक्षिक सत्रको अन्तिम परीक्षा चलिरहेको अवधिमा आफ्नै कोठामा बोलाएर गणित बिषयमा फेल भएको र पास गराईदिने प्रलोभन देखाएर शिक्षक जिलाजित पाश्वानले १९ वर्षिया छात्रालाई जबरजस्ती करणीको प्रयास गरेको पीडितले बताएकी हुन् । ती छात्राका बुबाआमा भारतमा रहेको र दाजुभाउजूसँग गाउँमै बस्दै आएकी थिईन् ।

छात्रालाई जवरजस्ती करणीको प्रयास गरेका ती शिक्षक सिराहाको सुखीपुर नगरपालिका स्थायी ठेगाना भई लापिलाङ माध्यमिक बिद्यालयमा निमावि तहको राहत करार दरबन्दीमा गणित शिक्षकको रुपमा ४ वर्षदेखि कार्यरत थिए । फरार रहेका शिक्षक पासवान बिरुद्ध प्रहरीकोमा किटानी जाहेरी परेको छ । घटनालगत्तै फरार रहेका उनको खोजी कार्य भैरहेको दोलखा प्रहरीले जनाएको छ ।