images
images

देशभर स्ववियु निर्वाचन सुरु, दोलखाका तीन क्याम्पसमा तयारी हुँदै

  • ५ चैत्र २०७९, आईतवार ०८:५३

दोलखा । त्रिभुवन विश्वविद्यालय सहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्र्तगत मतदान सुरु भएको छ ।

करिव १४ वर्षपछि ६० वटा आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमध्ये अधिकांश क्याम्पसमा आज विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गरिरहेका छन् । केही कम्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । विहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ देखि नियमित हुन सकेको थिएन ।

यसैबीच, दोलखाका तीन वटा क्याम्पसमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छैन । जिरी क्यापस जिरी, त्रिपुरा क्याम्पस नाम्दु र प्रताप स्मृति कलेज सिंगटीमा मतदान सुरु नभएको हो । मतदानका लागि आवश्यक तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । जिरी क्याम्पस जिरीमा ५५ जना मतदाता छन् भने त्रिपुरा क्याम्पस नाम्दुमा ५१ जना र प्रताप स्मृति कलेज सिंगटीमा १ सय ११ जना मतदाता रहेका छन् । स्ववियु निर्वाचनका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन, नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु बीच गठनबन्धन भएको छ भने नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु एक्लै प्रतिस्पर्धामा छ ।तीन वटा क्याम्पसबाट सभापतिका लागि ६ जना प्रतिस्पर्धामा छन् ।

जिरी क्याम्पस जिरीमा सभापतिमा गठबन्धनको तर्फबाट समाजवादी निकट विद्यार्थी संगठनको तर्फबाट विनोद बस्नेत र नेकपा एमाले निकट विद्यार्थी संगठनबाट ज्योति खड्का, प्रताप स्मृति कलेज सिंगटीमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रुपेश अर्याल र एमाले निकट अनेरास्ववियुबाट बालकृष्ण ओली प्रतिस्पर्धामा छन् । यस्तै त्रिपुरा क्याम्पस नाम्दुमा गठबन्धनको तर्फबाट सभापतिमा नेविसंघका सरोज थापा र एमाले निकट अनेरास्ववियुबाट सत्कार खत्री प्रतिस्पर्धामा छन् ।