images
images

बागमती प्रदेशसभामा संसदीय दलको नेता चयनकालागि निर्वाचनमा जाने कांग्रेसको तयारी

  • ६ पुष २०७९, बुधबार १८:२०

जिरी (दोलखा) । प्रतिनिधि सभामा संसदीय दलको नेता निर्वाचनको प्रक्रियावाट चयन गरेको नेपाली कांग्रेसले बागमती प्रदेशमा पनि निर्वाचनकै माध्यमवाट दलको नेता चयन गर्ने तयारी गरेको छ ।

बागमती प्रदेशसभाको संसदीय दलको नेताकालागि नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर २ (ख) वाट निर्वाचित बहादुरसिंह लामा र मकवानपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख) वाट निर्वाचित इन्द्रवहादुर बानियाँको शसक्त दावी रहेपछि कांग्रेसले निर्वाचनको माध्यमवाट दलको नेता चयन गर्न लागेको हो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका लामा र कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ संसदीय दलको नेता बन्ने दौडमा छन् ।

संसदीय दलको नेतामा यी दुई नेताको शसक्त दावी देखिएको र एकले अर्कालाई समर्थन गर्ने अवस्था नदेखिएपछि कांग्रेस बागमती प्रदेशको मंगलवार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरिसकेको छ । बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनकालागि समिति पनि गठन गरेको छ । कांग्रेस बागमती प्रदेश समितिका उपसभापति समेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, गंगा दहाल र सानु श्रेष्ठ सदस्य रहने गरी समिति गठन गरिएको हो । सो समितिले कांग्रेस सभापति शेरवहादुर देउवासँगको समन्वयमा संसदीय दलको नेता चयनकालागि निर्वाचन गराउने प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो ।

बागमती प्रदेशसभामा कांग्रेसले सर्वसम्मत संसदीय दलको नेता चयनको प्रयास जारी राखे पनि अहिलेसम्म ठोस उपलव्धि हात पर्न सकेको छैन । प्रतिनिधिसभामा संसदीय दलको नेता चयनकालागि निर्वाचन नैं भएका कारण पनि बागमती प्रदेशसभामा पनि संसदीय दलको नेता चयनकालागि निर्वाचन हुने सम्भावना बढेर गएको छ । यद्धपि संसदीय दलको नेतामा दावी प्रस्तुत गरेका दुवै नेता संस्थापन पक्षका भएका कारण सहमतिको झिनो आशा भने अझै बाँकी छ ।

नेपाली कांग्रेस ३७ सिटमा बिजय हात पार्दै बागमती प्रदेशसभाको सवैभन्दा ठूलो दल बनेको छ । बागमती प्रदेशसभामा कांग्रेसका प्रतक्ष्यतर्फ २५ र समानुपातिकतर्फ ३७ जना सांसद रहेका छन् । बागमती प्रदेशमा संसदीय दलको नेतामा दावी गर्ने दुवै नेता संस्थापन पक्षका हुन् । कांग्रेस केन्द्रीय सदस्य लामा बागमती प्रदेशको मुख्यमन्त्री बन्नकै लागि केन्द्रवाट प्रदेशमा झरेको चर्चा छ । बागमती प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भईसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दाबेदार थिए । बानियाँ यसअघि संबिद्यानसभा सदस्य हुँदै संघीय सरकारको गृह र पर्यटन राज्यमन्त्री भईसकेका छन् ।

निर्वाचन आयोगले मंसिर ४ मा बागमतीमा सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाईसकेको छ । आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएसँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ । बागमती प्रदेशसभाको सर्वदलीय बैठक पुस ८ गते बस्दै छ ।