images
images

दोलखामा नेपाल बन्दको आंशिक प्रभावः लामो दुरीका सवारीसाधन ठप्प, बजार भने खुल्ला

  • ७ भाद्र २०७९, मंगलवार ०८:२९

जिरी (दोलखा) । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज गरेको नेपाल बन्दको दोलखामा आंशिक प्रभाव परेको छ ।

दोलखामा आज विहानैदेखि लामो दुरीका सार्वजनिक सवारीका साधनहरु ठप्प रहँदा जिल्लास्थित छोटो दुरीका निजी सवारीका साधन मात्रै फट्ट–फुट्ट चलेका छन् । जिल्ला सदरमुकाम हुँदै काठमाण्डौंका लागि छुट्ने र गाउँ–गाउँबाट सदरमुकाम चरिकोट पुग्दै उपत्यका जाने यात्रुवाहक लगायतका अन्य सवारीका साधन ठप्प रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णु राज पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रुवाहक बस, माइक्रो लगायत सञ्चालनमा नरहेपनि जिल्लामा बन्दको पूर्ण प्रभाव छैन । आज पनि विहानैदेखि जिल्ला सदरमुकाम चरिकोट, सिंगटी बजार, मैनापोखरी र जिरी बजार खुलेका छन् । तर, लामो दुरीका सार्वजनिक सवारीका साधन भने नचलेको दोलखा प्रहरीले जनाएको छ ।

आज जिरी, मन्थली, सिंगटी क्षेत्र हुँदै सदरमुकाम पुग्ने सवारीका साधन पनि चलेका छैनन् । जिरीमा पनि छोटो दुरीका सवारी साधन मात्रै फाट्ट–फुट्ट सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायव निरक्षक (सई) इन्द्रदेव सिंहले जानकारी दिनुभयो । ‘विप्लव’ नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ । काठमाण्डौ उपत्यकामा भने अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् ।