images
images

अभिभावक संवेदनशील नबन्दा दोलखामा तीन कलिला बालबालिकाले गुमाए ज्यान, यस्ता कुरामा गरौँ ख्याल

जिरी (दोलखा) । अभिभावकले ख्याल नगर्दा साना बालबालिकाहरुले अल्पआयुमै मृत्युवरण गर्न पुगेका छन् ।

पछिल्लो सयम अभिभावकको असावधानीले साना बालबालिकाहरुले अकालमै ज्यान गुमाउनु परेको हो । पछिल्लो दुई महिनाको अवधिमा दोलखामा तीन जना बालबालिकाले अकालमै ज्यान गुमाएका छन् । अकालमै ज्यान गुमाउनेमा दुई बालक र एक बालिका रहेका छन् । गत चैत ८ गते कालिञ्चोक गाउँपालिकास्थित सुन्द्रावतीका एक नावालकको पेट्रोल सेवनबाट मृत्यु भएको थियो । कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीका २१ महिने सक्षम सेढाईको पेट्रोल सेवनबाट मृत्यु भएको हो । बालकले कोठामा राखेकोे पेट्रोल सेवन गर्दा अकालमै ज्यान गुमाउनु परेको छ ।

केहि दिन अघि मात्रै गौरीशंकर गाउँपालिका ५ सुरीमा एक बालिकाको गहुँको बाला घाँटीमा अड्किएर मृत्यु भएको छ । स्थानीय अमृत खड्काकी ९ महिनाकी छोरीको घाँटीमा गहुँको बाला अड्किएर मृत्यु भएको हो । बाबुआमा आँगनमा काम गरिरहेका बेला खेलिरहेकी बालिकाले घरमा कुट्नका लागि राखिएको गहुँको बाला भेटेर खाएकी थिईन् । उनले गहुँको बाला खाएको केहि समयमै प्राथमिक स्वास्थ्य केन्द्र सुरीमा लगिएपनि उनलाई बचाउन नसकिएन ।

यता, जिरी नगरपालिकास्थित कोटमा पनि आगनको डिलबाट लडेर एक बालकको मृत्यु भएको छ । जिरी नगरपालिका वडा नम्बर ६ स्थित कोटका ६ वर्षीय बालक कविर खड्काको आगनको डिलबाट लडेर मृत्यु भएको हो । आफ्नै घरको आगनमा खेल्ने क्रममा एक्कासी आगनको डिलबाट खसेर गम्भीर घाईते भएका बालकको उपचारका क्रममा मृत्यु भएको छ । अभिभावकको असावधानी र बच्चाहरुको जिद्धिपनले यस्ता घटना घटेको पाइन्छ । दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले पछिल्लो समय जिल्लामा साना बालबालिकाहरुको अल्पआयुमै मृत्यु हुने क्रम बढेकाले उनीहरु अभिभावको निगरनीमा हुनु पर्ने बताउनुभयो ।

यसरी गरौँ बालबालिकाको ख्याल

अभिभावकहरूले आफ्नो काममा घरबाहिर हुँदा घरमा एक्लै बस्ने आफ्ना बालबालिकाको सुरक्षामा ध्यान दिनु जरुरी देखिन्छ । अभिभावकहरुले बालबालिकाहरुलाई जथाभावी नछाड्ने, घरको वरिपरि बच्चा सुरक्षित हुने वातारण निर्माण गर्ने र घर वा कोठामा जथाभावी औषधी राख्नु हुदैन । यसैगरी, घरबाहिर खेल्न गएको वेला होस् या साथीसँग घुम्न वा साथीको जन्मदिन मनाउन गएको भए पनि वेलावेलामा सम्पर्कमा रहिरहनु आवश्यक हुन्छ ।

आफूसँगै भए पनि घरबाहिर वा घरभित्रै पनि आगलागी, करेन्ट लाग्ने, तातो पानीले पोल्ने, छतबाट खस्ने, कुवा, नहरमा डुब्न सक्ने, गाईवस्तु चराउन जाँदा भिरबाट लड्ने, सडक दुर्घटनामा पर्न सक्नेजस्ता जुनसुकै अप्रिय घटना हुन सक्ने हुँदा सकेसम्म चनाखो भएर आफ्ना बालबालिकाको सुरक्षाको पूर्ण ख्याल राख्नुपर्छ ।