images
images

दोलखामा म्यादी प्रहरीका लागि १५ सय ४७ जनाको आवेदन

  • ११ चैत्र २०७८, शुक्रबार १८:४५

दोलखा । दोलखामा म्यादी प्रहरीका लागि माग गरिए भन्दा करिब दोब्बर बढीको आवेदन परेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा म्यादी प्रहरीका लागि जिल्लामा ७ सय ९५ म्यादी प्रहरीका लागि आवेदन माग गरिएकोमा १ हजार ५ सय ४७ जनाको आवेदन परेको हो । सो संख्या माग गरिए भन्दा ७ सय ५२ ले बढी हो । म्यादी प्रहरीका लागि ६ गतेदेखि आजसम्मका लागि दरखास्त दिने समय तोकिएकोमा १५ सय बढीको आवेदन परेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार ९१ जना पुरुष र ४ सय ५९ जना महिलाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि आवेदन दिनेमा महिला भन्दा पुरुषको संख्या ६ सय ३२ ले बढी देखिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएसँगै दोलखामा पनि ७ सय ९५ म्यादी प्रहरी माग गरिएको थियो । कार्यालयले म्यादी प्रहरी छनौटका लागि मापदण्ड निर्धारण गरेको छ । जसअनुसार सुरक्षा निकायमा २०७८ साउन १ गतेदेखि बिभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्ण भएकोे, पुर्व सुरक्षाकर्मी तथा पुर्व वनरक्षक र विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेकालाई प्राथमिकता दिइने छ ।

आवेदन दिएकाहरुलाई प्रहरी प्रधान कार्यालयले निर्धारण गरेको मापदण्डको आधारमा यही २२ गतेभित्र छनोट गरिने दोलखा प्रहरीले जनाएको छ । निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन सम्मको हुनेछ ।