images
images

दमकल नपुग्दै लापिलाङका तीन घर खरानी, ५० लाख बढीको क्षति

  • १२ चैत्र २०७८, शनिबार २१:०४

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा एकै परिवारको तीन घरमा आगलागी हुँदा ५० लाख भन्दा बढीको क्षति भएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङस्थित पोखरे गाउँको तीन घरमा आगलागीमा हुँदा ५० लाख बराबरको क्षति भएको हो । आगालागीबाट तीन वटै भुकम्पप्रतिरोधि पक्कि घर, ५ तोला सुन, ३६ हजार नगद र लत्ता कपडा, अन्न लगायतका सामानहरु जलेर पूर्णरुपमा नष्ट भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । पोखरेका कृष्णबहादुर थापासहित उनका दुई छोराहरु चन्द्र थापा र ईश्वर थापाको घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति भएको दोलखा प्रहरीले जनाएको छ । आज विहान खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले लाखौंको धनमाल जलेर नष्ट भएको हो ।

दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएपनि घर र घरभित्र रहेका सवै सामान जलेर नष्ट भएका छन् । आगलागीको खवरपछि भीमेश्वर नगरपालिकाबाट दमकल लगिए पनि लामो दुरी र पुग्न समय लागेका कारण समयमै आगो नियन्त्रण गर्न सकिएको थिएन । आगलगीस्थलवाट सुरक्षाकर्मीको टोलीले सुनको तिलहरी र केही सिक्काहरु भने फेला पारेको थियो ।