images
images

यी हुन् दोस्रो पटक उम्मेदवार बनेका जनप्रतिनिधि

  • १३ बैशाख २०७९, मंगलवार १८:४९

दोलखा । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि दोलखाका ६ जना जनप्रतिनिधिले दोस्रो पटक टिकट पाएका छन् ।

जिल्लाको ९ पालिकामध्ये एक पालिका प्रमुख, तीन जना उपप्रमुख र दुई वडा वडाध्यक्षले दोस्रो पटकका लागि टिकट पाएका हुन् । दोहोरिएर उम्मेदवार बन्नेमा वैतेश्वर गाउँपालिकामा छवि लामा, विगु गाउँपालिकामा यसअघि उपाध्यक्षका रहेका सञ्जीव ओली, भीमेश्वर नगरपालिकामा यसअघि उपमेयर रहेकी कमला बस्नेत र जिरी नगरपालिकाकी उपपमेयर कृष्णमाया बुढाथोकीले दोस्रो कार्यकालका लागि टिकट पाएका छन् । उनीहरुमध्ये सञ्जीव ओलीले हाल गठबन्धनको तर्फबाट विगु गाउँपालिकाको अध्यक्ष पदका लागि टिकट पाएका हुन् । ओली २०७४ सालको स्थानीय तह निर्वाचनमा विगु गाउँपालिकाको उपाध्यक्षमा सर्वाधिक मतका साथ विजयी भएका थिए । यस्तै बस्नेत र बुढाथोकी उपमेयरमै दोहोरिएन टिकट पाएका छन् ।

यसअघि वडाध्यक्षमा निर्वाचित भएका उम्मेदवारले यो पटक नगरप्रमुख र गाउँपालिका अध्यक्षका लागि टिकट पाएका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष भइसकेका हरिवंश चौंलागाईले यो पटक भीमेश्वर नगरपालिकाको नगरप्रमुखको टिकट पाएका छन् भने मेलुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भइसकेका हिरा थोकरले मेलुङ गाउँपालिकाको अध्यक्षको टिकट पाएका हुन् । उनीहरु सबैले दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका छन् । जिल्लाका अन्य स्थानीय तहमा भने नयाँ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा विशेष कारणवस हार व्यहोर्न बाध्य भएका कतिपय उम्मेदवारले पनि दोस्रो पटक टिकट पाएका छन् ।