images
images

लिखु खोलाले जल्दै गरेको लास बगायो, मलामी सबै सकुशल

  • १३ माघ २०८०, शनिबार २१:४२

रामेछाप । रामेछापस्थित लिखु खोलाले जल्दै गरेको लास बगाएको छ । लिखु–२ जलविद्युत् आयोजनाले बिना सूचना एक्कासी ड्याम खोल्दा जल्दै गरेको लास बगेको हो ।

जिल्लाको उमाकुण्ड गाउँपालिका–१ गुम्देल बाल्दिङस्थित लिखु नदीमा आत्महत्या गरेर ज्यान गुमाएका स्थानीय ३२ वर्षीय झपट थापाको शव जलाउने क्रममा जलविद्युत आयोजनाले एक्कासी ड्याम खोलिदिएपछि लास खोलाले बगाएको स्थानीयले बताएका छन् । शव लिएर आफन्त र धेरै गाउँले खोलामा पुगेका थिए । आज बेलुकी करिब ६ बजे जल्दै गरेको शव माथिबाट एक्कासी ठूलो बाढी झै खोला आएपछि बगेको र मलामी भागदौड तथा तितरवितर भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । सो क्रममा शव बगेपछि तितरवितर भएका केही मलामी समेत बगाएको आशंका थियो ।

तर, अहिले सबै मलामी सकुशल सम्पर्कमा आएको रामेछापका डिएसपी होम प्रसाद पराजुलीले जानकारी दिनुभयो । बगेको शवको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।