images
images

दोलखामा पिपिआर खोप अभियानः १ लाख ३२ हजार भेडाबाख्रालाई लगाइँदै

  • १५ फाल्गुन २०८०, मंगलवार १८:२६

दोलखा । दोलखाका १ लाख बढी भेडाबाख्रालाई पिपिआर रोग बिरुद्धको खोप लगाईँदैछ ।

जिल्लाका ९ वटै स्थानीय तहमा रहेका १ लाख ३२ हजार भेडाबाख्रालाई भोलीदेखि २२ गतेसम्म खोप दिन लागिएको हो । पशु सेवा कार्यालय दोलखाको आयोजनामा भेडाबाख्रामा लाग्ने घातक रोग पिपिआर अर्थात् भेडा बाख्राको हैजो विरुद्ध सप्ताहव्यापी खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पशु सेवा कार्यालय दोलखाका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत ज्ञानबहादुर जिरेलले खोप अभियान अन्तर्गत जिल्लाका दुई नगरपालिकालाई २० हजार ५ सय र गाउँपालिकालाई १३ हजारका दरले भ्याक्सिन पठाईसकिएको जानकारी दिनुभयो ।

प्रमुख जिरेलका अनुसार पिपिआर रोग बिरुद्धको खोपका लागि पशु सेवा कार्यालयले भ्याक्सिनेटर समेत खटाईसकेको छ । खोप अभियान एक सातासम्म चल्नेछ । सरकारले यो खोप निशुल्क उपलब्ध गराउँदै आएको छ । पिपिआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो । नेपालको सबै जिल्लाहरुमा देखापरिसकेको यो रोग पुरानो ठाउँमा देखा पर्दा मृत्युदर कम भएता पनि नयाँ ठाउँमा फैलिदा रोगबाट करिब ८० प्रतिशत सम्म मृत्युदर बढेकाले खोप लगाउन आवश्यक रहेको कार्यालय प्रमुख जिरेलले बताउनुभयो । उहाँका अनुसार यस रोगको खास उपचार नभएको हुँदा सबै भन्दा प्रभावकारी भनेकै सामुहिक खोप लगाएर रोग नियन्त्रण गर्नु हो ।

पिपिआर रोग रोगी भेडाबाख्राको प्रत्यक्ष सम्पर्कमा आउनाले वा विषाणुको संक्रमण भएको दाना, घाँसपात, सोत्तर, हेरचाह गर्ने व्यक्तिको माध्यमबाट सर्ने गर्दछ । यो रोग लागेमा बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने र उग्राउन छाड्ने जस्ता लक्षण देखापर्दछ । यस्तै आँखामा कचेरा लाग्ने, नाकबाट बाक्लो सिगान बग्ने, गिजा र मुखभित्र घाउहरु देखिने, बथानमा एकैपटक धेरै बिरामी पर्ने जस्ता लक्षण देखिने गरेको छ । यो रोगबाट बच्न भेडाबाख्रालाई अनिवार्य रुपमा पिपिआर खोप लगाउन पशु सेवा कार्यालय चरिकोटले आग्रह गरेको छ । कार्यालयले आ–आफ्नो पालिकामा सम्पर्क राखि अनिवार्य खोप लगाएर आफ्नो पशुलाई पिपिआर रोगबाट बचाउन भनेको छ ।