images
images

सिन्धुलीस्थित सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजना विश्व किर्तिमान बन्यो

  • १४ चैत्र २०८०, बुधबार १८:३९

सिन्धुली । सिन्धुलीस्थित सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजना विश्व किर्तिमान बनेको छ ।

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व किर्तिमान बनेको दाबी गर्नुभएको हो । उहाँका अनुसार टीबीएमले एक महिनामा १ हजार ५ सय ३ दशमलव ३ मिटर सुरुङ खनेर विश्व किर्तिमान बनाएको हो । मासिक १५ सय ३ मिटर खनेर यसअघिको १२ सय २४ मिटर खनिएको रेकर्ड तोडेको राजदूत सोङले बताउनुभयो ।

निर्माण कम्पनीले नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ निर्माण सुरु गरेको थियो । आयोजनाको पानी पथान्तरणको लागि सिन्धुलीको खुर्कोट बजारदेखि करिब २ किलोमिटर माथि र सुनकोशी–तामाकोशीको दोभानदेखि करिब ९ सय ५० मिटर तल बाँध निर्माण गरिनेछ । १३ किलोमिटर सुरुङबाट सुनकोशी नदीको ६७ क्युमेक पानी मरिन खोलामा खसालिने भएको छ । राष्ट्रिय योजना आयोगले आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको जनाएको छ ।

जसमध्ये चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ११ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको छ । सुनकोशी मरिन आयोजना प्रमुख मित्र बरालले राजदूतले दाबी गरे अनुसार आधिकारिक तथ्यांक नभए पनि आयोजनामा सुरुङ निर्माणले गति लिएको बताउनुभयो ।