images
images

दोलखामा डेढ वर्षमा ७८ जनाले गरे आत्माहत्या, झुण्डिएर ज्यान फाल्नेको संख्या बढ्दो

  • १६ फाल्गुन २०७९, मंगलवार १०:५१

जिरी (दोलखा) । दोलखामा पछिल्लो डेढ वर्षको अवधिमा ७८ जनाले आत्माहत्या गरेका छन् ।

जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा ५७ जना र चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २१ जनाले आत्माहत्या गरेका हुन् । यो अवधिमा सबैभन्दा बढी ६६ जनाले झुण्डिएर आत्माहत्या गरेका छन् भने १० जनाले विष सेवन गरी र एक जनाले हाम फालेर तथा एक जनाले घाँटी रेटी आत्माहत्या गरेका छन् । यो वर्षको हालसम्मको अवधिमा भने विगु गाउँपालिकामा आत्माहत्या गर्नेको संख्या शून्य रहेको छ । सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकाका ७ जनाले आत्माहत्या गरेका छन् । यसैगरी, पछिल्लो ६ महिनाको अवधिमा जिरी नगरपालिकामा ४ जना, मेलुङ र बैतेश्वर गाउँपालिकामा ३/३ जना, गौरीशंकर गाउँपालिकामा २ जना र भीमेश्वर नगरपालिका तथा शैलुङ गाउँपालिकाका एक/एक जनाले आत्माहत्या गरेको दोलखा प्रहरीको तथ्यांक छ ।

यसअघि गत एक वर्षमा भीमेश्वर नगरपालिकाका १७ जना, जिरी नगरपालिका र तामाकोशी गाउँपालिकाका ७/७ जना, मेलुङ गाउँपालिकाका ६ जना बैतेश्वर गाउँपालिकाका ५ जना, विगु, कालिञ्चोक र शैलुङ गाउँपालिकाका ४/४ जना तथा गौरीशंकरका ३ जनाले आत्माहत्या गरेको पाइएको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

गत वर्ष जिल्लामा सबैभन्दा बढी ३७ जना पुरुष र १३ महिलाले आत्माहत्या गरेका थिए । यसैगरी ५ बालिका र २ बालकले पनि आत्माहत्या गरेका छन् । यो वर्षको तथ्यांक हेर्ने हो भने माघसम्मको अवधिमा ११ पुरुष, ८ महिला, एक बालिका र एक बालकले आत्माहत्या गरेका छन् । बढी आत्माहत्याको मुख्य कारण तनाव, अभाव, घरायसी झगडा तथा विवाद लगायत रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।