images
images

एसईई आजदेखि सुरु हुँदै, ५ लाख ४ हजार भन्दा बढी परीक्षार्थी सहभागी हुने

  • १५ चैत्र २०८०, बिहीबार ०६:२१

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले देशभरका २ हजार ६४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सञ्चालन हुने जनाएको हो । यो वर्ष एसईईमा देशभरका ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८ सय १३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । तीमध्ये २ लाख ५० हजार ७ सय ७२ जना छात्रा र २ लाख ५३ हजार ६ सय २७ छात्र रहेका छन् । परीक्षाका लागि देशभर २ हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४ सय ४१ वटा निर्धारण गरिएको बोर्डको भनाई छ । परीक्षा नियन्त्रक पौडेलका अनुसार आजदेखि सुरु भएको परीक्षा चैत २७ गतेसम्म चल्ने भएको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्राध्यापक डा. महाश्रम शर्माले भयरहित ढंगले परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।