images
images

बागमती प्रदेशमा हानेपालाई एक मन्त्रालय दिएर मन्त्रीपरिषद विस्तार गर्ने जम्कट्टेलको तयारी

  • १५ चैत्र २०८०, बिहीबार १७:०२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । बज्राचार्य हाम्रो नेपाली पार्टीको संसदीय दलका नेता हुन् । हानेपाले गत चैत ९ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर समर्थन फिर्ता लिन गरेको यो पार्टीका बज्राचार्यलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्री नियुक्त गर्न लाग्नुभएको हो । २ सिट भए पनि बागमती प्रदेशसभामा यो पार्टीको भूमिका निर्णायक छ । हानेपा सरकारमा सहभागी हुँदा अहिलेको सत्ता गठबन्धनसँग बहुमत हुनेछ ।

प्रदेश सरकारको भागबन्डामा गठबन्धन दलहरूबिच सहमति नजुटिरहेको बेला मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नुभएको हो । सत्ता घटक एमाले, माओवादी र एकीकृत समाजवादीका आ–आफ्ना अडानले सहमति जुट्न नसकेको हो । यद्यपि शीर्ष नेताहरूले सहमति नजिक पुगेको दाबी गरेका छन् । चैत १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले, माओवादी र एकीकृत समाजवादीको शीर्ष नेता सम्मिलित बैठकमा सिट बाँडफाँट सम्बन्धमा छलफल गरेका थिए ।

सिट बाँडफाँटको विषयमा चैत १३ गते प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबिच बालुवाटारमा करिब एक घण्टा छलफल भएको थियो । बुधबार बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा प्रदेश तहको भागबन्डामा दलहरूबिच छलफल भइरहेकाले कुनै सहमति नभएको गर्नुभएको थियो ।