images
images

होली पर्व मनाउने क्रममा बहादुरी देखाउँदै हाम फालेका युवक कर्णालीमै अस्ताए, शव घाटमा फेला

  • १५ चैत्र २०८०, बिहीबार १७:२७

काठमाडौं । चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला परेका छन् ।

कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही मृत फेला परेका हुन् । गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव आज टिकापुर–२ संकटी घाटमा भेटिएको कैलालीका एसपी पदम विष्टले बताउनुभयो । शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको एसपी विष्टले जानकारी दिनुभयो । घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो । पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए ।

हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।