images
images

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रमः प्रविधिमैत्री प्रदेश बनाइने

  • १४ जेष्ठ २०८०, आईतवार १५:३२

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने भएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले दीगो विकासको अवधारणा अनुसार योजना निर्धारण गरिने बताउनुभयो ।उहाँले प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउने बताउनुभयो। आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने, प्रदेशको सन्तुलित विकासका लागि ठुला आयोजना छनौट गरी कार्यान्वयनमा ल्याइने सरकारको नीति तथा कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

बागमती सरकारले पुँजी निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि रोजगारीका अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने नीति लिने भएको छ । योजना तथा कार्यक्रमको न्यूनतम लागत निर्धारण गरी सोभन्दा कमका आयोजनाहरु स्थानीय तहमा पठाइने नीति सरकारको छ । मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रम, एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।