images
images

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदै

  • १३ पुष २०७९, बुधबार ०७:०४

जिरी (दोलखा) । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुदैछ ।

सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि आज निर्वाचन हुन लागेको हो । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि आज लागि निर्वाचनको मिति तोकेको थियो । समितिले आज दिउँसो २ देखि ३ बजेसम्मका लागि मतदानको समय तोकेको छ । निर्वाचन संसदीय दलको कार्यालय हेटौंडा परिसरमा हुनेछ । दलको नेता चयनको लागि हुने निर्वाचनअन्तर्गत हिजो मतदाता नामावली प्रकाशन भएको छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि मनोनयनको समय राखिएको छ भने बिहान १०ः३० मा उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको दरखास्त उपर दावी विरोधका लागि बिहान ११ बजेदेखि ११ः३० सम्मको समय तोकिएको छ । आज १२ बजे दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

यसैगरी, आज दिउँसो १२ः३० देखि दिउँसो १ः३० सम्म उम्मेदवारले नाम फिर्ता लिन सकिने छ भने दिउँसो १ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । २ बजेबाट भने मतदान प्रक्रिया सुरु हुनेछ । नेपाली कांग्रेस बागमती प्रदेश सदस्यीय दलका लागि संस्थापन पक्षकै दुई नेताबीच प्रतिस्पर्धा हुदैछ । जसमा कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र २ (ख) बाट निर्वाचित बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशका सभापति मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित इन्द्रबहादुर बानियाँ चुनावी मैदानमा छन् । बामगती प्रदेशसभामा नेपाली कांग्रेसको ३७ सीट छ । दलको नेता बन्न १९ जना सांसदको साथ आवश्यक पर्छ ।

यसैबीच, संसदीय दलको नेता छान्ने निर्वाचनको पूर्वसन्ध्यामा हिजो हेटौंडामा प्रदेश सभापति समेत रहेका इन्द्र बानियाँले शक्ति प्रर्दशन गरेका छन् ।