images
images

सिक्किमको टिस्टा नदीमा बाढीले बगाएर बेपत्ता भएका २३ सैनिकको खोजी कार्य जारी

  • १७ आश्विन २०८०, बुधबार १३:५६

काठमाडौं । उत्तरी सिक्किमको टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण कम्तीमा  २३ जना सैनिक वेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको बताइएको छ ।

बारदाङमा रहेका सैनिकहरु बाढीबाट प्रभावित भएको र राति करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर वेपत्ता भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५–२० फिटसम्म सतह बढेको थियो । वेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् ।

अचानक बाढी आउनुको कारण हिमताल विस्फोट भएर बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । उत्तरी सिक्किमको चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र धेरै भवन एवं संरचना बगाएर लगेको बताइएको छ । बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको हिस्सा समेत बगाएको छ । सिक्किममा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ। वर्षासँगै हिमताल विस्फोट भएर पनि अचानक ठूलो बाढी आएको आँकलन गरिएको हो ।