images
images

बाबरे ट्याक्टर दुर्घटनाः घाईते चारजनामध्ये दुईलाई काठमाडौँ रिफर

  • २३ चैत्र २०८०, शुक्रबार १६:०४

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा घाईते भएका दुई जनालाई काठमाडौँ रिफर गरिएको छ ।

दुर्घटनामा घाईते भएका कालिञ्चोक गाउँपालिका–२ बाबरेकी ३० वर्षिया बालकुमारी थामी र सोही स्थानकी २० वर्षिया निशा थामीलाई काठमाडौँ रिफर गरिएको हो । घाईतेमध्ये बालकुमारीको अवस्था गम्भिर रहेको छ । उनको शरीरको विभिन्न भाग र दुवै खुट्टामा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । निशाको शरीरका बिभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेकाले सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको हो । दुबैलाई काठमाडौँको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ । उनीहरुको धुलिखेल अस्पताल दोलखामा थप उपचार पछि रिफर गरिएको हो । दुर्घटना घाईते भएकी सन्चिमायाकी छोरी अस्मिता थामी र टुकी थामीको अवस्था सामान्य रहेको र उनीहरु अस्पतालबाट डिस्चार्ज भैसकेका छन् ।

कालिञ्चोक गाउँपालिका–२ बाबरेमा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३६ वर्षीया सञ्चीमाया थामीको मृत्यु भएको छ । उनको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको दोलखा प्रहरीले जनाएको छ । कालिञ्चोक गाउँपालिका–२ पुटिस्याङस्थित भित्री कच्ची सडक खण्डमा पुटिस्याङबाट सिंगटीतर्फ आउँदै गरेको लु ३ त १७१४ नम्बरको खाली ट्याक्टर सडकबाट ३५ मिटर तल खेतमा खसेर दुर्घटना भएको हो । ट्याक्टर चालक गौरीशंकर गाउँपालिका–५ का २२ वर्षीय अबराम थामीलाई प्रहरीले पक्राउ गरेको छ ।