images
images

जिरी नगरपालिकामा योजना सम्झौताको लागि ५ दिन मात्रै बाँकी, फागुन अन्तिमपछि ‘नो एग्रिमेन्ट’

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा चालु आर्थिक वर्षको लागि योजना सम्झौता गर्ने मिति सकिनै लागेको छ ।

जिरी नगरपालिकाले फागुन मसान्तपछि कुनै पनि विकास निर्माणका योजनाको सम्झौता नगर्ने भएकोले अब सम्झौताको लागि पाँच दिन मात्रै बाँकी रहेको हो । आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणका कामलाई निरुत्साहित गर्नकालागि जिरी नगरपालिकाले फागुन मसान्तभित्र चालु वर्ष सञ्चालन हुने सवै योजनाको सम्झौता गरिसक्ने नीति लिएको छ ।

नगर कार्यपालिकाको वैठकले विकास निर्माणका योजनालाई पारदर्शी र गुणस्तरीय बनाउनकालागि समयमै योजना सम्झौता गरी काम गर्ने नीति लिएको छ । सोही अनुसार फागुन मसान्तसम्म मात्रै योजनाको सम्झौता हुने तथा त्यसपछि नगरले कुनै योजनाको सम्झौता नगर्ने प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले बताउनुभयो ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी यही फागुन मसान्तभित्र योजना सम्झौताको लागि आउन आग्रह गरेको छ । नगरपालिकाबाट स्वीकृत योजना कार्यान्वयन कार्यतालिका अनुसार योजना सम्झौता गर्न अब पाँच दिन मात्रै समय बाँकी रहेकोले नगरपालिकाले पटक–पटक ताकेता गर्दै आएको छ । योजना सम्झौताको अन्तिम मितिबारे नगरको फेसबुक आइडी तथा स्थानीय सञ्चार माध्यमबाट सुचना प्रवाह हुँदै आएको छ ।

गत भदौ महिनामा जिरी नगरकार्यपालिकाको वैठकले वार्षिक योजना एवम् कार्यक्रम कार्यान्वयन कार्यतालिका २०८० स्वीकृत गरेको थियो । सो कार्यतालिका अनुसार नगरले फागुन मसान्तसम्म योजना सम्झौता र जेठ मसान्तसम्म सवै योजनाको अन्तिम भुक्तानी गरिसक्नुपर्नेछ ।