images
images

जिरी महोत्सवमा जिरी तालको चर्चा

जिरी(दोलखा) । जिरी महोत्सवमा जिरी ताल चर्चाको विषय बनेको छ । दोस्रो जिरी महोत्सवको उद्घाटन सत्रको माहोल गौरवको आयोजना जिरी तालमय बनेको हो ।

मानव निर्मित ताल निर्माणको काम अघि बढ्न नसकेको र जिल्लाबासीमा आशा मात्रै छाएको भन्दै पटक–पटक स्थानीय नागरिकहरुले जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई घच्घचाइरहेको बेला जिरी महोत्सवको उद्घाटनसत्र तालमय बनेको हो । जिल्लाका राजनीतिक दलका शीर्ष नेताहरु र जनप्रतिनिधिले प्रमुख अथितिका रुपमा शुक्रबार जिरी आउनुभएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएका छन् ।

जिरी तालको फाइल लामो समयदेखि केन्द्रिय सरकारमा गएर अड्किएको बेला उनीहरुले मन्त्री भण्डारी मार्फत केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् । महोत्सवको उद्घाटन सत्रमा पूर्वमन्त्री एवम् एमाले नेता पार्वत गुरुङले बागमती प्रदेशमा एमालेका नेता डोरमणी पौडेल मूख्यमन्त्री भएको बेला नै जिरी ताल निर्माणको विषय उठेको स्मरण गराउँदै आयोजना कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । जिरी ताल निर्माणको चर्चा चलेको लामो समय भइसक्दा समेत कार्यान्वय हुन नसकेकोले यसबारे केन्द्रिय सरकारले गम्भीरताको साथ सोच्नुपर्ने बेला आएको धारणा राख्नुभयो ।

यस्तै, बागमती प्रदेशका पूर्वमन्त्री एवम् माओवादी केन्द्रका केन्द्रिय सदस्य विशाल खड्काले जिरी ताल निर्माण हुनै पर्ने महत्वको आयोजना रहेको भन्दै जसरी भएपनि ताल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जिरी ताल निर्माणले पर्यटन प्रवद्र्धन र आम्दानी वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने धारणा राख्नुभयो ।

सोही क्रममा ताल निर्माण हुने क्षेत्र समेत पर्ने नगरपालिका जिरी नगरका प्रमुख मित्र बहादुर जिरेलले जिरी ताल डिपिआर लगायत विभिन्न कारण देखाउँदै दोष देखाएर अलपत्र पार्न नहुने बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारकै गौरवको आयोजनाको रुपमा रहेकोले जिरी ताल निर्माणमा एउटा सरकारले अर्काे सरकारलाई दोष देखाएर अन्देखा गर्न नहुने भन्दै मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनुभएको थियो । जिरी ताल निर्माणमा सबै सरकार र सबै पक्ष एक जुट भएर लाग्नुपर्ने प्रमुख जिरेलको भनाई छ । खासगरी जिरी महोत्सवको उद्घाटनसत्रमा जिरी ताल र पर्यटनसँग सम्बन्धीत विषयवस्तुहरु उठान भएको थियो ।

जवाफमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केन्द्रमा अड्किएको जिरी तालको फाइलको बारेमा मन्त्रीपरिषदमा छलफलको विषय बनाउने बताउनुभयो । मन्त्री भण्डारीले तत्कालै जिरी तालको विषवस्तुको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुको साथै मन्त्रीपरिषदमा छलफलको विषय बनाउने बताउनुभएको हो । उहाँले जिरी पर्यटकीय हवको रुपमा रहेको भन्दै ताल निर्माण र अन्य पर्यटन प्रवद्र्धनमा केन्द्रिय सरकारले समेत सहयोग गर्ने बताउनुभयो ।

ताल निर्माणको सुरुवाती चरणमा हुने जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्ने कामलाई अघि बढाउन संघीय सरकारको मन्त्रिपरिषले निर्णय गरी स्वीकृति प्रदान गर्नुपर्ने हुन्छ । तर, केन्द्रिय सरकारले विभिन्न प्रकृया नपुगेको तथा स्रोत सुनिश्चित भएर नआएको जस्तो कारण देखाउँदै फाइल रोकेर राखेको छ । जिरी ताल बागमती प्रदेश सरकारको गौरवको ठूलो आयोजना हो ।

डिपिआर अनुसार ताल निर्माणको अनुमानित लागत ३ अर्ब १७ करोड रुपैंया रहेको छ । ताल निर्माणको लागि करिब ७ सय रोपनी जग्गा आवश्यक पर्नेछ । यो आयोजनाको चर्चा हुन थालेको ६ वर्ष भएको छ ।