images
images

आमा बन्दै जिरीमा ‘कोरियाकी रानी’

जिरी(दोलखा) । कोरिया सरकारवाट उपहार स्वरुप गाई आनुवंशिक श्रोत केन्द्र जिरीलाई प्राप्त भएको चार उन्नत जातको कोरियन गाई सन्तान बढाउने तयारीमा छन् ।

करिव एक वर्षअघि जिरी आईपुगेका होल्स्टिन फ्रिजियन जातका उन्नत कोरली गाई गर्भाधान भएसँगै श्रोत केन्द्रमा कोरियन गाईको संख्या बृद्धि हुने भएको हो । गाई आनुवंशिक श्रोत केन्द्र जिरीका फार्म प्रवन्धक डाक्टर गोपाल गिरीले चार वटै कोरली गाई कृत्रिम गर्भाधानपछि सन्तान विस्तारको तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले चार वटै ‘कोरियन क्विन’ गर्भवती भएको र आगामी वर्षको असोज महिनासम्म कम्तिमा चार वटा उन्नत जातका बाछाबाछी थपिने बताउनुभयो ।

कोरियावाट ल्याइएका चार वटा उन्नत जातका कोरलीलाई श्रोत केन्द्रका प्रवन्धक, कर्मचारी र हेरालुले मायालु शव्दले ‘कोरियन क्विन’ अर्थात कोरियाकी रानी भनेर बोलाउने गर्दछन् । ती कोरलीलाई फार्मभित्र अलग्गै भवनमा राखेर विशेष स्याहार गर्ने गरिएको छ । कोरिया सरकारले नेपाललाई सहयोग स्वरुप उपलव्ध गराएको कोरियन कोरली गाई २०७९ साल पुस १५ गते जिरी आईपुगेका थिए । जिरी आइपुगेका चार वटै गाइ गर्भवती भएका छन् । ती कोरलीलाई कोरियावाटै उन्नत विर्य झिकाएर कृत्रिम गर्भाधान गराइएको थियो ।

गाई आनुवंशिक श्रोत केन्द्र जिरीका अनुसार होल्स्टिन फ्रिजियन जातका उन्नत कोरियन गाईहरु मध्ये एउटा गाई आगामी २०८१ साल वैशाखमा व्याउने छ भने अर्को साउनमा र वाँकी २ वटा असोज महिनामा व्याउने छन् । फार्ममा रहेका जर्सी र होल्स्टिन तथा क्रश गाईहरु मध्ये कोरियावाट ल्याएको कोरियन होल्स्टिन फ्रिजियन गाई ठूलो र दुधालु हुनेछ । यी गाईलाई अरु जातका गाई भन्दा दाना पनि बढी दिनु पर्दछ ।

बजार मूल्यअनुसार एउटा कोरली गाईको करिब ३ लाख ९६ हजार (३ हजार अमेरिकी डलर) रुपैयाँ पर्छ । गत वर्षको पुस ७ गते गणतन्त्र कोरियाको कृषि खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा कोरली बाच्छी र साँढे नेपाल ल्याइएको थियो । दक्षिण कोरियाले नेपाललाई आनुवंशिक रूपमा सुधारिएको गाईवस्तु तथा दुग्ध प्रविधिमा सहयोग गर्ने प्रतिबद्धता अनुसार बाच्छी र साँढे कृषक र देशको पशुपालन कार्यालयमा उपलब्ध गराउँदा जिरी गाई आनुवांशिक श्रोत कन्द्रलाई पनि चार वटा आएको थियो ।