images
images

श्रीमान–श्रीमतीको विवादले नागरिक उन्मुक्ति पार्टीकी सांसद गिरीको गुम्यो पद

  • २६ चैत्र २०८०, सोमबार १७:३२

कैलाली । श्रीमान श्रीमतीको विवादले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीको पद गुमेको छ ।

नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ र उनका श्रीमान रेशम चौधरीको विवादले प्रदेशसभा सदस्य गिरीको पद गुमेको हो । सुदूरपश्चिमका सभामुख भीम भण्डारीले आज नाउपा सांसद गिरी पदमुक्त भएको सूचना निकालेका हुन् । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेकी थिइन् । सोहीअनुसार सभामुख भण्डारीले गिरीलाई पदमुक्त गरेको सूचना निकालेका हुन् । समानुपातिक सांसद गिरी नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री रहेकी थिइन् ।

संरक्षक रेशम पक्षको जोडबलमा गिरी सरकारमा मन्त्री भएकी थिइन् । तर, एमाले माओवादी गठबन्धनको पक्षमा रहेकी अध्यक्ष रञ्जिताले सरकारबाट फिर्ता हुन निर्देशन दिएकी थिइन् । आफ्नो निर्देशन पालना नगरेको भन्दै श्रेष्ठले सामानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र पठाएकी हुन् । सो पत्रसँगै मन्त्री पदमा रहेकी गिरीको पद गुमेको हो ।