images
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई एकीकृत समाजवादीले समर्थन नगर्ने

  • ४ बैशाख २०८१, मंगलवार १५:५९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ । समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई पत्रत्र बुझाउँदै चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जानकारी गराएको हो । यसअघि कांग्रेस नेता कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरुलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेका थिए । सो समयमा कांग्रेसको समर्थनमा नाउपाका लक्ष्मणकिशोर र एमाले माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले दाबी पेश गरेका थिए । सत्ता गठबन्धनमा आफुहरुलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन दिएको थियो ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसँग एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भएको छलफलमा सुदूरपश्चिम प्रदेशमा समाजवादीका अध्यक्ष माधब नेपालले चाल्न खोजेको कदमका बिषयमा छलफल भएको थियो । सो समयमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति भएको थियो । नाउपाका सांसदहरुले दाबी छोड्न तयार भएपछि सत्तागठबन्धनले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति गरेका हुन् ।