images
images

जिरीवाट हेटौंडा र काँकडभिट्टासम्म यात्रुवाहक बस संचालन गरिने, पर्यटन विकासमा टेवा पुग्ने

  • २४ पुष २०८०, मंगलवार १६:१४

जिरी (दोलखा) दोलखाको पर्यटकीय नगरी जिरीबाट इलाम र बागमती प्रदेशको राजधानी हेटौंडासम्म नियमित सार्वजनिक बस सञ्चालन हुने भएको छ ।

आगामी माघ ३ गते बुधबारदेखि जिरी–बेताली–खिम्ती–काकडभिट्टा हुँदै इलामको पशुपतिनगरसम्म र जिरीदेखि बागमती प्रदेशको राजधानी हेटौंडासम्म नियमित सार्वजनिक बस सञ्चालन हुने भएको हो । आज जिरी नगरपालिकामा नगरप्रमुख मित्रबहादुर जिरेलको अध्यक्षतामा राजनीतिक दलका पदाधिकारी, सरोकारवाला, यातयात व्यवसायि लगायतको सहभागीतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा जिरी नगरपालिकाका नगर प्रमुख जिरेलले बागमती प्रदेशको राजधानी र भारतको सिमा नाकासम्म सिधा यातायात संचालन गर्दा जिरी र आसपासका वासिन्दा लाभान्वित हुनुका साथै जिरी भ्रमणमा आउने पर्यटकको संख्या समेत बृद्धि हुने बताउनुभयो ।

जिरीबाट ती स्थानहरुमा नियमित सार्वजनिक यातयात सञ्चालन गर्दा जिरीको आर्थिक गतिविधिमा टेवा पुग्नुको साथै पर्यटकीय नगरी जिरी मुलुकका विभिन्न क्षेत्रसँग जोडिने छ । बैठकले रोल्वालिङ यातायात सहकारी संस्था लिमिटेड, पूर्व अरनिको यातायात प्राली, सुनौलो विपी यातायात प्राली, पूर्व मेची बस व्यवसायि प्रालीलाई आपसमा समन्वय गरी बस सञ्चालन गर्न एक साताको समय दिएको छ । उनीहरुले एक साताभित्र आपसमा समन्वय गरी माघ ३ गतेदेखि नियमित बस सेवा सञ्चालनमा ल्याउनु पर्नेछ ।

बैठकमा नेपाली कांग्रेस जिरी नगरसमितिका सभापति सोनाम शेर्पा, नेकपा एमाले जिरी नगरसमितिका अध्यक्ष केशवकुमार कार्की, नेकपा एकीकृत समाजवादी जिरी नगरसमितिका अध्यक्ष मोहनकुमार खड्का, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ तथा यातायात संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कांग्रेस सभापति शेर्पाले जिरीदेखि मधेश र प्रदेश राजधानीसम्म सिधा यातायात सञ्चालन भएपछि जिरीको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।

जिरीबाट इलामको पशुपति नगर र प्रदेश राजधानी हेटौंडासम्म यात्रुवाहक बस सञ्चालनमा आउँदा जिरीका मात्रै नभई रामेछापको रस्नालु, बेताली, नामाडी, खिम्ती, मन्थली, खुर्कोट, सिन्धुली, बर्दिबास हुँदै काकटभिट्टा–पशुपतिनगर सम्मका नागरिकहरुले सहजै रात्रीबसको सुविधा पाउने छन् ।