images
images

डोल्पा आगलागी घटनाः जलेर घाईते भएका थप दुई सैनिकको मृत्यु, मृतकको संख्या तीन पुग्यो

  • २७ चैत्र २०८०, मंगलवार १७:५५

डोल्पा । डोल्पामा डढेलोमा परी जलेर घाईते भएका थप दुई सैनिकको मृत्यु भएको छ ।

ठुलीभेरी नगरपालिका–३ स्थित मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउँदा घाईते भएका सैनिक विजय कोइराला र आशिक बुढाको उपचारको क्रममा मृत्यु भएको हो । डोल्पाबाट हिजो हेलिकप्टरमा काठमाडौँ लगिएकोमा उपचारको क्रममा उनीहरुको आज मृत्यु भएको हो । यस्तै हिजो समयमै सुविधासम्पन्न अस्पतालमा लैजान नसक्दा सिपाही २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो । उहाँका अनुसार योसँगै मृत्तकको संख्या तीन पुगेको छ ।

कोइराला र बुढाको आगोले शरीरको ७० देखि ९० प्रतिशतसम्म जलेको र उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ । हिजो आगो निभाउने क्रममा १२ जना सैनिक घाईते भएका थिए । तीमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । डोल्पाको विभिन्न सामुदायिक वनमा केही दिनदेखि डढेलो सल्किरहेको छ । वनमा लागेको डढेलो नियन्त्रण गर्न नेपाली सेनाका २ वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिए पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।