images
images

काभ्रेपलाञ्चोकमा ट्याक्सी र कार ठोक्किँदा ११ जना घाइते

  • १ माघ २०८०, सोमबार १८:३८

काभ्रेपलाञ्चोक । विपी लोकमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा कार र ट्याक्सी ठोक्किँदा ११ जना घाइते भएका छन् ।

रोशी गाउँपालिका–८ डिप्सास्थित विपी लोकमार्गमा कार र ट्याक्सी एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका हुन् । दुर्घटनामा परी घाइते हुनेहरुमा कार चालक महोत्तरीको बर्दिबास नगरपालिका–१ का ४१ वर्षीय मदनबहादुर तामाङ, ट्याक्सी चालक काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ का ३६ वर्षीय मनिज तिवारी, सोही स्थानका लक्ष्मण तिवारी र उनका छोरा ११ वर्षीय आयुष तिवारी लगायत ११ जना रहेका छन् ।

काठमाडौँबाट मंगलटारतर्फ जाँदै गरेको बिएबी २९२५ नम्बरको कारलाई विपरीत दिशा मंगलटारबाट धुलिखेलतर्फ आउँदै गरेको बा २ ज ३९४३ नम्बरको ट्याक्सीले ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइतेहरुको मेथिनकोट भकुण्डे र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।