images
images

पहिरोमा पुरिएका घाइतेको अझै उद्धार हुन सकेन, सुरक्षाकर्मी समेत घटनास्थल पुग्न सकेनन्

दोलखा । दोलखाको लामावगरस्थित नासा हाइड्रोको सडक निर्माणको क्रममा सुख्खा पहिरोमा पुरिएर गम्भीर घाइते भएका दुई जना कामदारको अझै उद्धार हुन सकेको छैन ।

पहिरो खसेर मजदुर घाइते भएको ६ घण्टासम्म पनि उनीहरुको उद्धार हुन नसकेको हो । पहिरोमा पुरिएर गम्भीर घाइते भएका दोलखाको बिगु गाउँपालिका–१ का २८ वर्षीय दिलकुमार तामाङ र ५८ वर्षीय रसमान तामाङको उद्धार हुन नसकेको हो । टाउको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेका घाइतेहरुलाई यो समाचार तयार पार्दासम्म अस्पताल पुर्याउन सकिएको छैन भने घटनास्थलमा सुरक्षाकर्मी समेत पुग्न सकेका छैनन् ।

घाइतेको उद्धार गरी समयमै उपचार हुन नसक्दा उनीहरुको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ भने पहिरोमा पुरीएर मृत्यु भएका दोलखाको बिगु गाउँपालिका–१ का २२ वर्षीय युवक कुसुङ तामाङको शव समेत घटनास्थलवाट निकाल्न सकिएको छैन । घटना घटे लगत्तै खटिएको नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सडक र बाटो अवरुद्ध भएका कारण लामावगरवाट अघि बढ्न सकेको छैन । निर्माणाधिन लामावगर–लप्चि सडकको देउराली सडक खण्डमा पनि पहिरो खसेका कारण सुरक्षाकर्मीको टोली अघि बढ्न सकेको हो । लामावगरवाट देउराली हुँदै घटनास्थल हुरहुरे भन्ने स्थानमा पुग्न अन्य वैकल्पिक बाटो छैन ।

घाइतेहरुलाई हेलिकोप्टर मार्फत उद्धारको प्रयास गरिए पनि खराव मौसमका कारण हेलिकोप्टर नआउँदा समस्या भएको हो । घाइतेको उद्धारकालागि दिउँसो श्री एयरको हेलिकोप्टरलाई आग्रह गरिए पनि आउन नसकेको र वेलुकी नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरलाई अनुरोध गरिए पनि नआएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । घाइतेहरुलाई घटनास्थलवाट उद्धार गरी हाइड्रोका कामदारको जङ्गलमा रहेको अस्थायी क्याम्पमा राखिएको र भोली विहान हेलिकोप्टर मार्फत उद्धारको तयारी भएको प्रजिअ पोखरेलले बताउनुभयो ।

सुख्खा पहिरो खसेको लामावगरको हुरहुरे र आसपासको क्षेत्रमा मानव वस्ति र टेलिफोनको नेटवर्क समेत छैन । नासा हाइड्रोको आन्तरिक सूचना संयन्त्रवाट प्राप्त जानकारी अनुसार घाइतेको शरीरवाट रगत बग्ने क्रम केही कमी भएपनि उनीहरुको अवस्था भने सामान्य छैन । घटनास्थल चीनको तिव्वतसँगको सिमा नजिकको दुर्गम स्थान हो । जुन लामावगरवाट करिव १० किलोमिटर उत्तरमा पर्दछ । चिसो र खराव मौसमका कारण बिरामीलाई झनै समस्या भएको बताइएको छ ।

नासा हाइड्रोमा काम गर्ने कामदारले त्रिपाल टाँगेर जँगलमा बनाएको टहरोमा घाइतेलाई राखिएको छ । सडक निर्माणमा खटिएका मजदुरहरुले घटनास्थलवाट घाइतेलाई उद्धार गरेर टहरोमा राखेका हुन् ।